• Saturday 25th July 2026

बुटवलको “नाइट हब”बन्दै कालिकापथ

बुटवलको “नाइट हब”बन्दै कालिकापथ

सडक उज्यालो भएपछि बजार चलायमान भएको छ । यो क्षेत्रमा लुटपाटका घटना पनि भएका छैनन् ।


  • लुम्बिनी रिभ्यू

नम्रता अर्याल
बुटवल– रातको ९ बजेको छ । आकाश अलिकति अधेरिएको छ । तर शहरमा भने रातको कुनै आभाष छैन । रातमा पनि उज्यालोले झनै चम्किएको छ । बुटवल उपमहानगरपालिकाको कालिकापथ उज्यालो बत्तीले चम्किएको हो । सडक आसपासका पसल सबै खुला छन् । किरानापसल, फेन्सी स्टोर, डिपार्टमेन्ट स्टोर, बुटिक, मोबाइलपसल, पार्लर, इत्यादी । साँझपख होटल र रेष्टुरेन्टमा बाक्लो चहलपहल देखिन्छ । कोही कफीको चुस्की लिँदै छन्, कोही साथीभाइसँग जम्का भेट गर्दैछन् त कोही पारिवारिक जमघटमा व्यस्त देखिन्छन् । उज्यालोले चम्कीएको यो क्षेत्र रातको ११ बजेसम्म पनि यस्तै हुन्छ ।
कालिकापथको उज्यालो सडक व्यापार अझ मौलाएको छ । सडक छेउमा लस्करै राखिएका ठेलामा आइसक्रिम, फुल्की, चटपट र चाटको व्यापार । त्यही व्यापारमा देखिन्छ प्रेम र भोक । कालिकापथको रौनक भनेका ती साना ठेलाहरु हुन् । जहाँ फुल्की, छोले, आइसक्रीम र चटपट बेच्छन् । लाग्छ, पोखराको लेकसाइड र काठमाडौंको ठमेल यहीँ सरेको हो । केटाकेटीदेखि युवायुवतीसम्म फुल्कीको घेरा बनाएर उभिएका हुन्छन् । कसैले चाख्दै छन्, कसैले सेल्फी खिच्दै छन् । स्थानीय दीपक क्षेत्री मुस्काउँदै भन्छन् “हामी अफिस सकाएर साथीहरूसँग यहीँ भेटिन्छौं, यहाँको माहोल नै छुट्टै छ ।” छेउमै दुई बालिका आइसक्रीम समाउँदै हाँसिरहेका छन्, बाबुआमा छेउमै उभिएका छन् । यहाँको चहलपहल केवल खानामा छैन, सम्बन्धमा पनि छ । साथीभाइ, परिवार, जोडीहरू सबैको लागि यो ठाउँ साँझको सौगात बनेको छ ।


बुटवलको नेपालगन्ज रोडमा रहेको सिन्दुर होटलबाट सुरु हुन्छ कालिकापथ । कालिकापथ लम्बिदै योगिकुटीको पछाडिसम्म पुग्छ । यो पथ बुटवलको मात्र होइन, सायद लुम्बिनी प्रदेशकै एउटा चम्किलो साँझ र चहलपहल साँझ देखाउने गन्तव्य बन्दै गएको छ । रातिको हाटबजार कालिकापथको अर्कोअनुहार हो — तिनकुने चोकको तरकारी बजार । सहरका व्यस्त मानिसहरूकालागि साँझको यो बजार वरदान सरह हो । “दिनभरि अफिसमा काम हुन्छ, अब त राति पनि फ्रेश तरकारी किन्न पाइन्छ, धेरै सजिलो भएको छ । ”स्थानिय बासिन्दा डा.ज्योति आत्रेय सुनाउँछिन् ।
बिहानै काममा निस्कने र साझ घर फर्कनेकालागि साझको बजार निकै सहज भएको छ । यसैले जति साझ छिप्पीदै जान्छ यहाँको बजार अझ चहलपहल हुन्छ । महिला ब्यवसायी सरला नेपाल भन्छिन् “बिहानैदेखि मेडिकल जाने हतार हुन्छ । साँझमा पनि सबै पसलहरु खुलै हुँदा घरमा सकिएको सामान लैजाँदै घर फर्किन पाइन्छ । निकै सहज भएको छ ।”
मिलनचोककी गोमा पाण्डे पाँच वर्षदेखि तिनकुनेमा तरकारी बेच्दै आएकी छिन् । पहिले साँझ ८ बजे नै उठाउने तरकारी अहिले राति १० बजेसम्म पनि चल्छ । उनी भन्छिन्,“पहिले त साँझपख व्यापार सकिन्थ्यो, तर अहिले त दिनको जस्तै चहलपहल राति पनि हुन्छ ।” त्यसैमाथि बुटवल उपमहानगरपालिकाले चोक चोकमा जडान गरिदिएको हाइमास्ट लाइटले सुनमा सुगन्ध थपिदिने काम गरेको छ । गोमा पाण्डे भन्छिन् “हाइमास्ट लाइटले तिनकुने चोक उज्यालो बनाइदिएपछि ग्राहकको संख्या साँझपख झन् बढेको छ । व्यापारीलाई पनि, ग्राहकलाई पनि सहजभएको छ ।”


बुटवल उपमहानगरले कालिकापथमा रात्रीकालीन बजार सञ्चालनमा ल्याउने योजना थालेको छ । रात्रिकालिन बजारबारे अहिले स्थानीय व्यवसायीहरू, नगर प्रशासन र सर्वसाधारणबीच छलफल भएको छ । यसले सम्भावनाको ढोका खोलिदिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अनुसार, कालिकापथ क्षेत्रमै हाल करिब ३५० होटल तथा रेष्टुरेण्टहरू सञ्चालनमा छन् । रात्रीकालीन बजार सञ्चालन हुने बहससँगै होटल र रेष्टुरेण्ट, किराना पसलदेखि अन्य विभिन्न साना व्यापारसमेत राति अबेरसम्म खुला रहन थालेका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघका अध्यक्ष लेखनाथ भण्डारीका अनुसार, “बुटवललाई साँच्चीकै चलायमान बनाउने हो भने रात्रीकालीन बजार नै ठुलो पूर्वाधार भएको बताउँछन् । अहिले हामीले त्यो थालनी गरेका छौं । पर्यटक, व्यवसायी, स्थानिय सबैको सहभागिताले यो अभ्यास दिगो बन्न सक्छ ।” उनको भनाइमा बुटवलको विविध जातिय संस्कृति, सांस्कृतिक कार्यक्रम र अन्तर्राष्ट्रिय अवधारणा ‘गुड फ्राइडे मार्केट’ जस्ता कार्यक्रमहरूसँग समायोजन गरिएमा लुम्बिनी आएका पर्यटकहरू समेत रातको समयमा बुटवलसम्म तान्न सकिने सम्भावना छ ।


बुटवलमा उज्यालो अभियानसँगै कालिकापथमा रात्रिकालिन बजार अगाडि बढेको छ । दुवै अभियान स्थानीय बासिन्दाको शान्ति र निजी जीवनमा असर नपार्ने गरी विकास गर्नुपर्ने आवश्यकता छ । “स्थानियको सहयोग, होटल तथा रेष्टुरेण्टहरुको मर्यादित सेवासँगै सांस्कृतिक कार्यक्रमलाई समेत जोड्दै कालिकापथलाई लैजाने हो भने यो क्षेत्र साँच्चै नै बुटवलको नाइट हबको रुपमा यो ठाउँ स्थापित हुने छ ।”होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका सल्लाहकार माधव नेपाल सुनाउँछन् ।
संयुक्त मागपत्र र प्रशासनको सहकार्य
रात्रीकालीन बजारको माग व्यापक रुपमा उठिरहेको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले देवदह, तिलोत्तमा, सैनामैना र सिद्धार्थनगर नगरपालिकासँग मिलेर रुपन्देही जिल्ला प्रशासन कार्यालयमा संयुक्त रुपमा ज्ञापनपत्र समेत बुझाइसकेका छन् । जिल्ला प्रशासन कार्यालयले यसप्रति सकारात्मक प्रतिक्रिया जनाएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष भण्डारी भन्छन्, “प्रशासन सहयोगी भूमिकामा छ । अब हामी व्यावसायिक अनुशासनमा रहेर अघि बढ्नुपर्छ । यसले कालिकापथको मात्र होइन बुटवलकै बजार चलायमान बनाउने छ ।”
हालको स्थिति र सुरक्षा मापदण्ड
कालिकापथमा हाल करिब ३० वटा होटल तथा रेष्टुरेण्टहरूले नियमित रूपमा रात्रीकालीन सेवा दिइरहेका छन् । ती होटलहरूमा सि.सि.टि.भी क्यामरा जडान, निजी सुरक्षा गार्ड, लगायतका मापदण्डहरू अपनाइएको छ । बुटवलका भित्री सडकहरू र मुख्य हाइवेको छेउछाउ हाइमास्ट लाइटले उज्यालो भएपछि रातिमा पैदलयात्रीहरू समेत सुरक्षित महसुस गरिरहेका छन् । अँध्यारोमा गन्तव्य पुग्नु पर्ने बाध्यता भएकाहरूकालागि पनि उज्यालोले निकै सुबिधा भएको देखिन्छ । स्थानीय पदम श्रेष्ठ भन्छन्, “सडक उज्यालो भएपछि बजार चलायमान भएको छ । यो क्षेत्रमा लुटपाटका घटना पनि भएका छैनन् ।”


स्थानीयवासीको चासो र आवाज
तर, यो परिवर्तन सँगसँगै केही असन्तुष्टि पनि बढ्दै गएको छ । रात्रीकालीन बजारसँगै हुने भीड, सवारी चाप र आवाजका कारण स्थानिय बासिन्दाले रातको निद्रा खलबलिने गुनासो गर्न थालेका छन् । स्थानीयवासी खगेन्द« गिरी भन्छन्, “रातभरि मान्छेको चहलपहलले बालबालिका र वृद्धवृद्धाले सुत्न गाह्रो भएको छ । व्यापार होस्, तर शान्तिसँग सुत्न पाइयोस् । त्यस्तो वातावरण बन्नुपर्छ ।”
बुटवल उपमहानगरपालिकाकी उप–प्रमुख सावित्रा देवी अर्याल रात्रीकालीन बजारको अवधारणा बुटवललाई चलायमान बनाउने र अर्थतन्त्र बढाउने प्रयास भएको बताउँछिन् । यसले राजधानी सरेर भएको सुनशान र समस्या पनि समाधान हुने उनको भनाइ छ । उपप्रमुख अर्याल भन्छिन्, “पहिलोपटक भएको प्रयासमा केही समस्या देखिनु स्वाभाविक हो । हामी व्यवसायी र स्थानीय दुवैको पक्ष मिलाएर लैजान तयारीमा छौं ।” उनका अनुसार, बजार क्षेत्रको सुरक्षाको लागि नगर प्रहरीसँगै इलाका प्रहरी कार्यालयसँग सहकार्य गरेर रातको समयमा नियमित गस्ती गरिने योजना बनाइएको छ ।
अर्थतन्त्रमा सकारात्मक प्रभाव
सडकको उज्यालोले कालिकापथमा रात्रिकालिन चहलपहल बढाएको छ । रात्रीकालीन बजार नै सुरु भए यसबाट साना व्यवसाय, होटल तथा रेष्टुरेन्ट व्यवसाय बढी चलायमान हुन्छ । बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय होटलहरू खुल्दा अन्य सेवा र आपूर्तिको माग पनि बढ्ने भएकाले सिंगो अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउँछन् । “बुटवलको उज्यालो रात्रीकालीन बजारकालागि आधारशीला हो । रात्रीकालिन बजार केवल एक व्यापारिक अवधारणा होइन, यो बुटवलको सम्भावनालाई सजीव तुल्याउने माध्यम पनि हो ।” रात्रीकालिन बजारले बुटवलको व्यापार चम्काउने र पर्यटन पर्वद्धनमा सहयोग पुग्ने उन बताए । “बुटवललाई पर्यटकिय हब बनाउने अभियान चलाएका छौं । लुम्बिनी आएका बाह्य पर्यटक बुटवल आउन् । रात्रीकालिन बजार घुमुन् र यतै वास बसुन् भन्ने योजना छ । यसकैलागि कालिकापथलाई उज्यालो शहर र रात्रीकालिन बजारका रुपमा अगाडि सारेका हौं ।”नगरप्रमुख पाण्डेयले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend