नम्रता अर्याल
बुटवल । वनमा महिला र सिमान्तकृत समूदायको पहुँच बढाउन वनलाई बहुउपयोगमा लगाउन वनका उपभोक्ताहरुले माग गरेका छन् । वनबाट आम्दानी लिने वातावरण बनाउन पनि वनका फाइदा बढाउनुपर्ने उनीहले बताए ।
लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयको सहकार्यमा संचारिका समूह लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको वन क्षेत्रमा लैंगिकता र सामाजिक समावेशीकरण सार्वजनिक संवाद कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताए । केही वनका उपभोक्ताहरुले व्यवस्थापनको उचित नीति नहुदा वनमा रुख धोन्द्रीदै र काठ दाउरा कुहिदै गएको तर, उपभोक्ताले प्रयोग गर्न र फाइदा लिन नपाएको दुखेसो पोखे ।
बुटवल सामुदायिक वनका उपभोक्ता शान्ति विकले वनबाट आवश्यक फाइदा लिन नसक्दा वनमा आश्रीत विपन्न वर्ग, सामाजिक रुपले पछाडि परेको समुदाय र महिलाका लागि उल्लेख्य काम गर्न नसकेको बताइन् ।
करहिया सामुदायिक वनका उपभोक्ता सीता परियारले वनमा उद्यम गर्ने वातावरण बनाइदिन माग गरिन् । वनलाई बहुउपयोगमा लगाउने काममा सरकारी सहयोग र समन्वय आवश्यक रहेको बताइन् । वन पालेर मात्र उपभोक्ताले लाभ लिन नसक्ने बताउदै उनले वनमा पर्यापर्यटनका काम र उद्यम चलाउन सक्नुपर्ने उनले बताइन् ।
शंकरनगर सामुदायिक वनका सदस्य तथा वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष खीमलाल पाण्डेले वनको आम्दानी बढाए मात्र वनबाट समुदायका महिला र सामाजिक रुपले पछाडि परेको वर्गलाई फाइदा पुर्याउन सकिने बताए । उनले सामुदायिक वन महासंघ रुपन्देहीकी अध्यक्ष श्यामकला आचार्यले वनमा जथाभावी भौतिक पूर्वाधार निर्माणका योजना नबनाउन, र वनबाट विपन्नले आयआर्जन गर्ने एवं वनमा आश्रित उद्योगहरु चल्न सक्ने वातावरण बनाउन आग्रह गर्नुभयो । वनको फाइदाबाट महिला र विपन्नकालागि के के गर्न सकिन्छ भन्ने स्पष्ट नहुदा वनबाट त्यस्तो समूदायले फाइदा लिन नसकेको उनको गुनासो थियो ।
लुम्बिनी प्रदेशको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख जितेन्द्र सिंह खड्काले वनमा संरक्षण र संवृद्धिलाई जोडेर वन व्यवस्थापन योजना बनाउन आग्रह गरे । यसले वन क्षेत्रमा लैंगिकता र सामाजिक समावेशीकरण हुने । वनमा उपभोक्ताको पहँुच र लाभ लिन हुर्केका रुख काटेर काठदाउराबाट आम्दानी लिनु र नया रुख हुर्काउनु पनि भएको बताउदै आम्दानीको निर्णयमा पनि महिलाको पहुँच बढाउन सुझाब दिए । उपभोक्ताले वन उपभोक्ताको पहुँच र लाभ बढाउन सबै वनलाई बहुउपयोगमा लगाउन र रुखबाट आम्दानी लिने वातावरण बनाउन सरकारसँग माग गरे । यसकालागि वन र संवृद्धिलाई जोडेर वन व्यवस्थापन योजना बनाउन बनाइरहेको उनले बताए ।
कार्यक्रमको सहजीहरण गर्दै संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले वन नियमावलीले वनमा अध्यक्ष वा सचिवमध्ये एक र उपाध्यक्ष वा कोषाध्यक्षमध्ये एक महिलासहित ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको भए पनि त्यसअनुसार महिलाको क्षमता विकास हुन नसकेको बताइन् । उनले वनबाट हुने फाइदाको ३५ प्रतिशत रकम महिला, विपन्न तथा सामाजिक रुपमा पछाडि परेको समुदायको हीतमा खर्च गर्न निर्देश गरेको जानाकारी गराउदै त्यसमा महिला र सिमान्तकृत समूदायलाई निगरानी गर्न आग्रह गरिन् । अध्यक्ष अनमोलले सामुदायिक वनमा महिला क र सिमान्तकृत समुदायको समेत सहभागिता बढेको भएपनि वनबाट आवश्यक फाइदा लिन नसक्दा वनमा आश्रीत विपन्न वर्ग, सामाजिक रुपले पछाडि परेको समुदाय र महिलाको जीवनस्तर नफेरिएको बताइन् ।

लुम्बिनी रिभ्यू