• Saturday 25th July 2026

लेखा परिक्षणलाई पारदर्शी र विश्वशनिय बनाउनेबारे बहस

लेखा परिक्षणलाई पारदर्शी र विश्वशनिय बनाउनेबारे बहस

प्रभावकारी लेखा परिक्षणका लागि लेखा परिक्षकहरुको पेशागत क्षमता र समय अनुसारको सीप बढाउन सुझाब


  • लुम्बिनी रिभ्यू

बुटवल – लेखा परिक्षकहरुको संस्था नेपाल अडिटर एशोसियसन अडान रुपन्देहीले आफ्नो २० औं स्थापना दिवस मनाएको छ ।
सोमबार बुटवलमा अडान डे विशेष कार्यक्रम आयोजना गरी लेखा परीक्षकको भूमिका र लेखा परिक्षणका सवालमा विशेष संवाद आयोजना गरेको हो । कार्यक्रममा लेखा परिक्षकदेखि सरकारी कर अधिकृत एवं व्यवसायिक संघसस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । उनीहरुले लेखा परिक्षणलाई कसरी पारदर्शी एवं विश्वशनिय बनाउने र लेखापरिक्षकको पेशागत दक्षता बढाउदै व्यवसायी एवं राज्यलाई सघाउने भन्नेबारेमा बहस गरे ।


कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अडान रुपन्देहीका अध्यक्ष रामप्रसाद पौडेलले समय अनुसार लेखा परिक्षकहरुको क्षमता अभिवृद्धि, पेशागत दक्षता र नैतिक मूल्य कायम गर्न अडान लागेको बताउनुभयो । लेखा परिक्षकहरुले स्वतन्त्र र निष्पक्ष रुपमा वित्तीय विवरणको परिक्षण गरेर व्यवसायी र सरकारलाई करको दायरामा जोड्ने, कानुन र मापदण्डको पालना गरि कर छ्ली र नियम विरुद्धको काम हुनबाट जोगाएको उहाले बताउनुभयो । “असल लेखा परिक्षक सुशाशनको सेतु हो,” उहाँले भन्नुभयो, “आर्थिक पारदर्शिता र जवाफदेहिता कायम गर्ने मुख्य आधार लेखा परीक्षण हो । त्यसैले हामी लेखा परिक्षकले वित्तीय हिसाब–किताबको सत्यता जाँच गरेर नागरिक र सरकारलाई सुशाशनमा हिंड्न सघाएका छौं । ”


कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल अडिटर एशोसियसन अडानका केन्द्रीय उपाध्यक्ष रमेश केसीले लेखा परिक्षणले आर्थिक अनियमितता रोकथाम गर्ने भएकाले लेखापरिक्षकहरुले पनि व्यवसायी, संघसंस्था र आम नागरिकको विश्वास बढाउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्वतन्त्रत र निष्पक्ष भएर वित्तीय विवरणको तथ्य, कागजात, भौतिक सामग्री मिलान गरेर यथार्थ प्रमाणित गर्न पनि लेखा परिक्षकहरुलाई सुझाब दिनुभयो । उपाध्यक्ष केसीले भन्नुभयो, “अनियमितता भ्रष्ट्राचार वा त्रुटि भेटिए समाधानका उपाय सिफारिस गर्नुपर्छ । तर कर छली वा कानुन विपरितको काममा सघाउनु हुँदैन ।”


कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि आन्तरीक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत हरि वश्यालले लेखा परिक्षक सुशासनका वाहक भएको बताउदै लेखा परिक्षकले स्वतन्त्रत र निष्पक्ष वित्तीय विवरण हेर्न सुझाब दिनुभयो । कतिपय लेखा परिक्षकहरुले व्यवसायीलाई सघाउने नाममा करका नियमको बेवास्था गरेको बताउदै यसले व्यवसायी, र लेखा परिक्षक दुवै पक्षलाई समस्या पर्ने बताउनुभयो । “ कर छली र गलत लेखापरीक्षणका कारण सरकारले राजस्व त गुमाउँछ। व्यवसायी र लेखा परिक्षकलाई पनि कारबाही हुन्छ ।” उहाले भन्नुभयो, “यसैले रकमको प्रलोभनमा गैर व्यक्तिले तयार पारेको कागजातमा हस्ताक्षर गर्ने, लेखा परिक्षणलाई हल्का रुपले लिने काम पनि गर्नु भएन । तपाईहरु मातहत कसैले गरेको छ भने पनि रोक्नुहोला ।”

आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत धनिश्वर अर्यालले समय अनुसार लेखा परिक्षकहरुले समय अनुसार आफ्नो क्षमता र सीप बढाउदै जानुपर्ने बताउनुभयो । “समय अनुसार करका नियम फेरिएका छन् । लेखा राख्ने तरिका फेरिएको छ,” उहाँले भन्नुभयो, “यसमा अभ्यस्त हुन जरुरी छ ।” प्रमुख कर अधिकृत अर्यालले लेखा परिक्षकले आवश्यक ठानेमा आफूहरु हरेक समय सिक्न सिकाउन तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल अडिटर एशोसियसन अडानका केन्द्रीय सदस्य चन्द्रकान्त भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष टुकराज पाण्डे, आइक्यान च्याप्टरका संयोजक शिवहरि शर्मा, सल्लाहकार डिआर घिमिरे लगायतले व्यक्ति, संस्था र देशको वित्तीय व्यवस्था पारदर्शी र सुशासनयुक्त बनाउन लेखा परिक्षकहरु प्ोशागत मूल्य मान्यतामा अडिग रहनुपर्ने बताउनुभयो । उहाहरुले अडिटर एशिसियनले अब आफू मातहतका लेखा परिक्षकको पेशागत क्षमता र समय अनुसारको सीप बढाउन पनि काम गर्नुपर्ने सुझाब दिनुभयो ।


व्यवसायीहरुका तर्फबाट बोल्दै रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि बहादुर खत्री र रुपन्देही व्यापार संघका उपाध्यक्ष दया भण्डारीले सत्यतथ्य लेखा परिक्षणका लागि लेखा परिक्षकहरु हतारिएर र धेरै संस्थाको लेखापरिक्षण गर्ने दौडधुपमा नलाग्न सुझाब दिनुभयो । उहाँहरुले धेरै काम गर्दा सानातिना विषयमा ध्यान नदिने तर त्यही विषयले व्यवसायीहरु समस्यामा पर्ने भएकाले लेखापरिक्षकहरु थप संवेदनशील हुनुपर्ने उहाहरुले बताउनुभयो ।
लेखा परीक्षकको काम केवल हिसाब मिलाउने मात्र होइन, त्यस संस्थालाई दिगो र पारदर्शी बनाउने पनि हो । लेखा परिक्षकहरुको संस्था नेपाल अडिटर एशोसियसन अडान रुपन्देहीको निश्कर्ष थियो, “यसका लागि करका ऐन र नियम परिवर्तन हुँदा सरकारी निकायले पनि समन्वय गरेर सिकाउनुपर्छ । पारदर्शी लेखा परिक्षण र प्रभावकारी राजश्व संकलनका लागि व्यवसायी, सरकार र लेखापरिक्षक तीनै पक्षबीच समन्वय हुनुपर्छ ।”

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend