• Saturday 25th July 2026

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य इतिहासमै उच्च

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य इतिहासमै उच्च


  • लुम्बिनी रिभ्यू

हङकङ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबिच लगानीकर्ता सुरक्षित स्थानतर्फ लागेपछि बुधबार सुनको मूल्यले इतिहासमै पहिलो पटक प्रतिऔँस चार हजार डलर पार गरेको छ ।

टेक कम्पनीको तीव्र उकालो रेकर्डमा पुगेपछि अब ती बजार अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै सुनमा लगानी बढेको हो । वर्षभरि व्यापारी विश्वव्यापी आर्थिक अनिश्चित, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भूराजनीतिक तनावबिच सुनमा निर्भर रहँदै आएका छन् ।

परिणामस्वरूप सुनको मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार प्रतिऔँस चार हजार ३७.१० डलरसम्म पुगेको छ ।

यससँगै चाँदी पनि आफ्नै रेकर्ड नजिक पुगेको छ । अमेरिकी सरकारका केही विभाग बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ । यसले विशेषतः रोजगारीसम्बन्धी प्रमुख आर्थिक तथ्याङ्क स्थगित गरेको छ र अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) लाई ब्याजदरसम्बन्धी निर्णयमा अन्योलमा पारेको छ ।

नेसनल अस्ट्रेलिया बैङ्कका अर्थ विश्लेषक टेलर न्युजेन्टले भन्नुभयो, “सुनको तीव्र वृद्धि एक्सचेन्ज–ट्रेडेड फन्डको बढ्दो आगमन, चीनको बलियो माग र विश्वका केन्द्रीय बैङ्कको खरिदले समर्थन गरेको हो । राजनीतिक, आर्थिक र मुद्रास्फीति अनिश्चिततामा सुन सधैँ लाभमा रहन्छ ।” -एजेन्सी

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend