• Saturday 25th July 2026

नेपथ्यले पस्किरहेकाे छ जापानमा क्या मिठाे नेपाली सांगितिक स्वाद

नेपथ्यले पस्किरहेकाे छ जापानमा क्या मिठाे नेपाली सांगितिक स्वाद


  • लुम्बिनी रिभ्यू

यस्ताे हुँदैछ टाेकियाे र ओसाकामा पनि 

जापान । जव गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन सुरु गर्नासाथ दर्शक उत्साहित भएर चिच्याउन थालिहाले । त्यही बेला उनीहरूका हातमा चम्किरहेका रङ्गीविरङ्गी बत्तीले सिङ्गो माहोललाई झिलिमिली बनायो । यो क्रम दुई घण्टा लामो कन्सर्टभर निरन्तर रह्यो ।

याे असाधारण दृश्य थियाे, जापानकाे । त्याे पनि नागोयाकाे । जापानकै सबैभन्दा ठूलो बन्दरगाह अटाएको यस औद्योगिक सहरमा मुलुककै चौथो ठूलो जनसङ्ख्या छ । यो सहर आगामी वर्ष बिसौँ एसियाली खेलकुद आयोजना गर्ने हतारोमा पनि जुटेको छ । त्यसैले अवसरको खोजीमा पुगेका नेपालीको बसोबास यहाँ उल्लेख्य सङ्ख्यामा छ ।

एक साताअघि मात्रै पोखराको रङ्गशालामा १० हजार हाराहारी दर्शकमाझ प्रस्तुत भएर जापान यात्रामा निस्केको नेपथ्यले नागोयामा दर्शकबाट न्यानो र भव्य स्वागत पाएको हाे । छेउछाउको ओसाकामा पहिले पनि प्रस्तुति दिइसकेको नेपथ्यले नागोयामा पहिलो पटक कन्सर्ट गरेको हो ।

नेपथ्यका सकृय अगुवा अर्पण शर्माका अनुसार ५० भन्दा बढी नेपाली रेस्टुरेन्ट भएको नागोयामा बर्सेनि नेपाल फेस्टिवल आयोजना हुने गरेको छ । पछिल्लो समय क्रिकेटले लोकप्रियता पाइरहँदा स्थानीय स्तरमा हुने प्रतियोगिताहरूमा यहाँका नेपाली टोलीले पनि सहभागिता जनाउने गरेका छन् ।

अध्ययनका लागि नागोया आएका नेपालीको सङ्ख्या उल्लेख्य मात्रामा बढेसँगै अतिरिक्त क्षेत्रमा पनि उनीहरूको सक्रियता देखिन थालेको हो । हलमा उपस्थित २६ वर्षीय विवेक पुरी त्यस्तै एक विद्यार्थी हुन्, जससँग नेपथ्यको नाता बुटवलस्थित कालिका स्कुलमा आयोजित कन्सर्टदेखिको रहेछ ।
‘आठ वर्षअघि कालिका स्कुलमा नेपथ्यको कन्सर्ट हुँदा सँगै हुर्किएका साथीहरूको भीडमा बसेर हेरेको थिएँ,’ पुरानो दिन सम्झेर भावुक हुँदै उनले भने, ‘आज यति पर फेरि नेपथ्यलाई अनुभव गर्न पाएँ । सङ्गीतले मनोरञ्जन गराउने मात्र नभई फरक समय, मन र देशको मायालाई पनि कसरी जोड्दो रहेछ भन्ने अनुभूति भइरहेको छ ।’
आफू बसेको सहरमा नेपथ्यको कन्सर्ट हुन लागेको थाहा पाएपछि विवेकले हालै प्रकाशित ब्यान्डको जीवनी पुस्तक नेपालदेखि मगाएका रहेछन् । ‘भर्खर किताब पढिरहेका कारण कन्सर्टमा हरेक गीत गुन्जँदा म त्यसको रचनाको कहानी पनि सम्झिरहेको थिएँ,’ उनले थपे, ‘यसरी हेर्दाको मजा भनेर साध्य छैन ।’

नेपथ्यका बेग्लाबेग्लै गीतमा जतासुकैका दर्शकको प्रतिक्रिया लगभग उस्ताउस्तै भेटिन्छ । नागोयामा बिहीबार ‘जोगले हुन्छ भेट’ गाइँदा भने अन्यत्रभन्दा बढी उत्साह देखिन्थ्यो ।
ब्यान्डका मुख्य गायक एवं अगुवा अमृतले कन्सर्ट अवधिभर गीतका साथसाथै दर्शकसँग संवादलाई जारी राखे । उनले विदेशमा बसेका बेला नेपाली एकजुट हुनुपर्ने र आफ्नो भाषा अनि पहिचानलाई अझ दह्रोसँग समात्नुपर्ने आवश्यकता पनि औँल्याए ।
कन्सर्टमा ‘यो जिन्दगानी’ गीत प्रस्तुत गरिरहँदा गायक अमृतले स्वदेशमा स्कुल जान नपाएका केटाकेटीलाई सक्दो सहयोग गरिदिएर देशप्रतिको दायित्व निभाइदिन अपिल गरे । नेपथ्यले अन्त्यमा ‘रातो र चन्द्रसुर्जे’ सुनाएर बिदा मागेको थियो ।

‘मैले नेपथ्यलाई युट्युबमा मात्र देखेकी थिएँ,’ हेटौँडाबाट आई नर्सिङ अध्ययन गरिरहेकी २३ वर्षीया स्वस्तिका लामा भनिरहेकी थिइन्, ‘यसरी हलमा हेर्दा त नेपालीपनको आनन्दले झनै रमाइलो पार्दो रहेछ ।’

जापान आएको चार वर्षमा पहिलो पटक कन्सर्टमार्फत आफू नेपाली जरासँग जोडिएको महसुस भएको अनुभव पनि उनले सुनाइन् ।
‘नागोया लाइभ्स’ हलमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘बितेको दुई वर्षदेखि हामीले नागोयामा धेरै कार्यक्रम गर्दै आएका छौँ,’ कन्सर्ट सकिएपछि आयोजक टोलीका योमन देवानको प्रतिक्रिया थियो, ‘बालबच्चा, बुढापाका, युवकयुवती हुल बाँधेर यत्तिको रमाइलो गरेको पहिलोपटक देखियो ।’
यस कन्सर्टको आयोजनाबाट धेरै कुरा सिक्न पनि पाएको उल्लेख गर्दै उनले थपे, ‘नेपथ्यसँगको अनुभवलाई हामीले सौभाग्यका रूपमा लिएका छौँ ।’

नागोयाको सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापकको टोली अबको प्रस्तुतिका लागि राजधानी सहर टोकियो पुग्दै छ । जापानकै प्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा १८ नोभेम्बर मङ्गलबार नेपथ्य उभिनेछ । अन्तर्राष्ट्रिय पहिचान बनाएको यस हलमा ब्यान्ड दोसोपटक प्रस्तुत हुन लागेको हो । सात वर्षपहिले त्यस हलमा नेपथ्यको कन्सर्ट भएको थियो ।

राजधानी सहरमा प्रस्तुत भएको ठीक छ दिनपछि नोभेम्बर २४ मा ब्यान्डले ओसाका सहरका दर्शकलाई गीत सुनाउनेछ ।
दर्शक सुविधालाई ध्यानमा राख्दै जापानका कन्सर्टहरूको टिकट अनलाइनबाटै काट्न सकिने प्रबन्ध मिलाइएको छ । नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ शर्माकाे भनाइ छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend