• Saturday 25th July 2026

सिद्धार्थ बहुउद्धेश्य सहकारीको ज्येष्ठ नागरिक सम्मानदेखि रक्तदानसम्म

सिद्धार्थ बहुउद्धेश्य सहकारीको ज्येष्ठ नागरिक सम्मानदेखि रक्तदानसम्म


  • लुम्बिनी रिभ्यू

बुटवल, सहकारीहरू बचत तथा ऋण कारोबार गर्ने संस्था मात्र होइनन्, समाज रूपान्तरणका संवाहक पनि हुन् भन्ने सन्देश दिँदै सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवलले आफ्नो २७औँ स्थापना दिवस विविध सामाजिक तथा मानवीय कार्यक्रमका साथ मनाएको छ।

“ज्येष्ठ नागरिकलाई सम्मान गरौं, सभ्य समाज निर्माण गरौं” भन्ने नारासहित आयोजित कार्यक्रममा सहकारीले आफ्ना सदस्य तथा सदस्यका ज्येष्ठ अभिभावकलाई सम्मान गर्दै समाजमा ज्येष्ठ नागरिकप्रति सम्मान र कृतज्ञताको भावना अभिवृद्धि गर्ने प्रयास गरेको छ। कार्यक्रमअन्तर्गत ७ जना ज्येष्ठ नागरिकलाई खादा, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। यसैगरी सस्थापक सदस्यहरुलाई पनि सहकारीले सम्मान गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले परिवार र समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको अनुभव, ज्ञान र जीवनसंघर्ष नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए। उनीहरूले ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्नु सभ्य र संस्कारित समाजको पहिचान भएको धारणा व्यक्त गरेका थिए। स्थापना दिवसको अवसरमा सिद्धार्थ सहकारीले मानव जीवन बचाउने पवित्र कार्यका रूपमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो। “रक्तदान जीवनदान” भन्ने नारासहित सम्पन्न रक्तदान कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी, शुभेच्छुक तथा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ३२ पाइन्ट रगत संकलन भएको सहकारीका व्यवस्थापक प्रकाश भट्टराइले बताउनुभयो ।

स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रम र शुभकामनामा सीमित नराखी सहकारीले सामाजिक उत्तरदायित्वका विभिन्न आयामलाई समेटेको थियो। यसअन्तर्गत नेपाल अपाङ्ग आश्रममा आश्रित बालबालिकालाई भोजन गराउने कार्यक्रम सञ्चालन गरिएको थियो। आश्रममा पुगेर बालबालिकासँग आत्मीयता साट्दै सहकारीका पदाधिकारी तथा सदस्यहरूले भोजन गराएका थिए।
यसैगरी, सहकारीले पशु संरक्षण र गौसेवाको सन्देश प्रवाह गर्दै कामधेनु गौशालामा रहेका गाईगोरुका लागि गौआहार सहयोग गरेको छ। गौ सहकारीका अध्यक्ष तिलकराम आचार्यले स्थापना दिवसलाई समाजसेवासँग जोड्नु नै संस्थाको उद्देश्य रहेको बताउनुभयो। उहाँले सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्व, मानवीय सेवा, शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो।
सहकारीका पूर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद पौडेल, अजीत खनाल, मोतीराज ज्ञवाली, सचिव विन्दु गौतम, शिक्षा तथा सामाजिक शाखा संयोजक शिवबहादुर अधिकारी लगायतले समाजका हरेक वर्ग र समुदायसँग सहकार्य तथा सहानुभूतिको सम्बन्ध विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
विगत २७ वर्षदेखि सहकारी क्षेत्रमा सक्रिय सिद्धार्थ बहुउद्देश्यीय सहकारीले सदस्यको आर्थिक सशक्तीकरणसँगै सामाजिक रूपान्तरणका क्षेत्रमा समेत उल्लेखनीय भूमिका खेल्दै आएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend