अमृता अनमोल
बुटवल, १४ भदौं । रुपन्देहीका द्धन्द्धपीडितहरुले प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका व्यक्तिको खोजी तथा पहिचानमा तत्काल प्रभावकारी काम गर्न आग्रह गरेका छन् । समयमै खोजी, उद्धार र अभिलेखीकरण हुन नसके अहिले विपत्तिमा बेपत्ता भएका परिवारले पनि दशकौँअघिका सशस्त्र द्वन्द्वका बेपत्ता परिवारले जस्तै अनिश्चित पीडा र प्रतीक्षाको अवस्था भोग्नुपर्ने उनीहरुले चिन्ता जनाए । समयमै खोजी र अभिलेख बलियो बनाउन सकिएन भने अहिलेका बेपत्ता पनि भोलिका दिनमा ओझेलमा पर्दै जाने उनीहरुले दाबी गरे ।
बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार बुटवलमा आयोजित ‘संक्रमणकालीन न्याय तथा बेपत्ताहरूको न्याय र खोजीमा विभेदरहित जवाफदेहिताका लागि सरोकारवालाहरूको भूमिका’ विषयक छलफलमा सहभागीहरूले विपत्तिबाट बेपत्ता भएकाहरूको खोजीलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी प्रमुख अतिथि सावित्रीदेवी अर्यालले बेपत्ता व्यक्तिको खोजी, पहिचान र पीडित परिवारको न्यायका विषयमा राज्य तथा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । संविधान सभा सदस्य सोनिया यादवले २० वर्षअघि द्वन्द्वका क्रममा बेपत्ता भएका परिवार र अहिले प्राकृतिक विपत्तिका कारण आफन्त बेपत्ता भएका परिवारको पीडा उस्तै रहेको बताउनुभयो । उहाँले बेपत्ता आफन्तको अवस्था थाहा नहुँदा परिवारले वर्षौँसम्म आशा, निराशा र पीडाबीच जीवन बिताउनुपर्ने अवस्था आउने गुनासो गर्नुभयो ।
मानव अधिकारका लागि एकल महिला समूह रुपन्देहीका अध्यक्ष रीता सेन ओलीले बेपत्ताको खोजीले मात्र परिवारले आफ्नो संस्कृति, संस्कार र परम्पराअनुसार सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने र आत्मसम्मानसहित शोक पूरा गर्ने अधिकार सुनिश्चित हुने भएकाले राज्यले बेपत्ताको खोजवीनमा काम गर्नुपर्ने बताउनुभयो ।

एडभोकेसी फोरमका उपाध्यक्ष शिव गौडेलले विपत्तिमा बेपत्ता भएका व्यक्तिको नाम, ठेगाना, उमेर, पहिचान, पारिवारिक विवरण तथा सम्भावित घटनास्थलसहितको अभिलेख तत्काल व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । खोजी तथा उद्धारका क्रममा भेटिएका शवको पहिचान र सुरक्षित व्यवस्थापनमा पनि संवेदनशीलता अपनाउनुपर्ने उहाले बताउनुभयो ।
अधिवक्ता इन्दिरा आचार्यले समयमै खोजी तथा पहिचान हुन नसके भविष्यमा बेपत्ता व्यक्तिको अवस्था अझ जटिल बन्न सक्ने भन्दै राज्यका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र जवाफदेहिता आवश्यक रहेको बताउनुभयो । उहाले बेपत्ता परिवारका लागि खोजी र पहिचान केवल कानुनी प्रक्रिया मात्रै नभई परिवारको भावनात्मक न्याय, सम्मान र आत्मसम्मानसँग जोडिएको विषय भएकाले राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
सहभागी अन्य द्धन्द्धपीडित र बेपत्ताका आफन्तहरुले द्वन्द्वकालीन बेपत्ता र प्राकृतिक विपत्तिबाट बेपत्ता भएका व्यक्तिको खोजीमा विभेद नगरी राज्यले समान संवेदनशीलता र प्राथमिकताका साथ काम गर्नुपर्ने माग गरे । कार्यक्रम मानवअधिकारका लागि महिला, एकल महिला र न्यायका लागि द्वन्द्वपीडित समाजको आयोजनामा तथा कुर्भे र एडभोकेसी फोरमको सहकार्यमा बुटवलमा आयोजना गरिएको हो । कार्यक्रममा संक्रमणकालीन न्याय, बेपत्ताको खोजी, पीडित परिवारको अधिकार तथा राज्यको जवाफदेहिताबारे छलफल गरिएको थियो ।


लुम्बिनी रिभ्यू