• Saturday 25th July 2026

मार्टिनेजका लागि एक करोड युरो खर्चन तयार

मार्टिनेजका लागि एक करोड युरो खर्चन तयार


  • लुम्बिनी रिभ्यू

रोम : इटालियन सिरिए क्लब इन्टर मिलानका स्ट्राइकर लाउटेरो मार्टिनेजलाई भित्र्याउन स्पेनिस क्लब बार्सिलोना निकै लालयित देखिएको छ। २२ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मार्टिनेजलाई भित्र्याउन निकै अघिदेखि प्रयास थालेको बार्सिलोनाले उनको मूल्य पनि निर्धारण गरेको छ।

ला लिगा लिडर बार्सिलोनाले मार्टिनेजका लागि आफू एक करोड युरो (एक करोड १० लाख अमेरिकी डलर) खर्चन तयार रहेको बताएको छ। यस विषयमा छलफलसमेत अघि बढाइसकिएको बार्सिलोनाका एक अधिकारीले जनाएका छन्। यद्यपि यतिबेला विश्वभरका क्लबहरू आर्थिक संकटमा परेका छन्।

कोरोना भाइरसको महामारीका कारण खासगरी युरोपेली फुटबल बढी प्रभावित बनेको छ। यसका बाबजुद बार्सिलोनाले आगामी समर ट्रान्सफल विन्डोमा आफू सक्रिय भएर लाग्ने संकेत दिएको छ। मार्टिनेजका अतिरिक्त बार्सिलोनाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन स्टार नेमारमाथि पनि आँखा लगाएको छ।

मार्टिनेज र नेमारलाई भित्र्याउन बार्सिलोनाले आफ्ना केही खेलाडीलाई बिक्री गर्ने योजना पनि बनाएको छ। ‘बार्सिलोना मार्टिनेजलाई कुनै पनि हालतमा क्लबमा भिœयाउन चाहन्छ। त्यसैले उनका लागि आठ अंकको रकम प्रस्ताव गरेको छ’, बार्सिलोना सम्बद्ध सूत्रले भनेको छ।

बार्सिलोनाले मार्टिनेजका लागि तोकेको रकम बार्सिलोनाकै अर्का स्ट्राइकर लुइस स्वारेजको भन्दा कम हो। त्यसैले बार्सिलोनाले मार्टिनेजलाई अन्य सुविधा पनि दिने प्रस्ताव गरेको छ। नियमअनुसार क्लबको वार्षिक आम्दानीको ७० प्रतिशतभन्दा बढी रकम खेलाडी र अन्य कर्मचारीको तलबमा खर्च गर्न पाइँदैन। उक्त नियमले बार्सिलोनालाई नयाँ खेलाडी भिœयाउन समस्या पारेको छ।

मार्टिनेज सन् २०१८ मा अर्जेन्टिनी क्लब रेसिङबाट इन्टर मिलानमा आबद्ध भएका हुन्। उनले छोटो समयमै इन्टर मिलानमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। यो सिजन पनि उनले क्लबका लागि ३१ खेल खेल्दै १६ गोल गरिसकेका छन्। कोरोना भाइरसको महामारीका कारण हाल इटालियन सिरिए पनि स्थगित छ।

-एजेन्सी

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend