• Saturday 25th July 2026

गोल्डेनगेट सेमिफाइनलमा / दीलिप स्मृति च्याम्पियन

गोल्डेनगेट सेमिफाइनलमा / दीलिप स्मृति च्याम्पियन

मदन भण्डारी स्पोटर्स एकेडेमीको राष्ट्रव्यापि खेलकुद प्रतियोगिता


  • लुम्बिनी रिभ्यू

काठमाडौं । गोल्डेनगेट राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा गोल्डेनगेटले विशाल मिलन केन्द्र (बीएमके) लाई ७२–६८ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो । गोल्डेनगेटका अभिषेक सिंहले २९ अंक जोडे । रोयल, टाइम्स र कीर्तिपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार हुने सेमिफाइनलमा गोल्डेनगेटको भेट रोयलसंग हुनेछ भने टाइम्सले कीर्तिपुरको सामना गर्ने छ । दुई अर्थहीन खेलमा बलर्स एकेडेमीले आईएसए नेपाललाई ७३–६७ तथा जेभियरले मेरिलियोनलाई ५९–४९ ले हराए । बलर्सका आलोक क्षेत्रीले १३ तथा जेभियरका आभाष गुरुङले १२ स्कोर गरे ।

दीलिप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कांस्यसहित कोटेश्वर तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको मूलपानी तेक्वान्दो डोजाङले २ स्वर्ण, ३ रजत र २ कांस्य हात पार्‍यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका सागर घिमिरे तथा महिलामा प्रतिष्ठानकी भवानी बुढाथोकी उत्कृष्ट खेलाडी चुनिए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई पूर्व मन्त्री विष्णु पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, महासचिव पुरेन्द्रविक्रम लाखेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा पुरुष/महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । ७१ औं मदन जयन्तीका अवसरमा आयोजित दुईदिने प्रतियोगितामा २ सय ३० खेलाडी सहभागी थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend