• Saturday 25th July 2026

नजरअन्दाज नगरौं स्वास्थ्य सतर्कतालाई

नजरअन्दाज नगरौं स्वास्थ्य सतर्कतालाई


  • लुम्बिनी रिभ्यू

डा. लक्ष्मणप्रसाद ज्ञवाली

लेखक

आज पनि सयौ मानिस कोरोना संकरमित रहेको देशमा सर्वसाधारणले मास्क समेत नलगाइ खुलेर यात्रा गरिरहेका छन् । यो सबै हुनुमा मनोवैज्ञानिक र सामाजिक शक्तिको महत्वपूर्ण भूमिका रहेको छ । यसैले यस तिहारमा देउसी भैलो खेल्दा र छठ पर्व मनाइरहदा र आगामि आउने चुनावमा समेत हामिले स्वास्थ्य सतर्कतालाई नजरअन्दाज नगरौं ।

विश्वमहामारीले मानव जीवनका हरेक पक्षमा निकै ठूलो असर पार्‍यो । हुनत यस किसिमका महामारीहरू समय समयमा आउने गरेका छन् । तर हिजोका दिनमा आउने महामारी कोरोना भाइरस भन्दा निकै हानिकारक थिए । तर तिनिहरुले जनमानसमा ल्याएको त्रास अहिलेको भन्दा निकै कम थियो । त्यसबेलाको सञ्चारको अवस्था आदिका कारणले गर्दा पनि त्रासको वातावरण कम भएको हो । अहिलेको विकसित आमसञ्चार प्रणाली तथा मानव चेतनाको समेत बृद्धिले गर्दा पनि यस्तो भयावह रुपमा कोभिड प्रकोपलाई लिन परेको हो । यदि सामाजिक सञ्जाल आदिको विकास नभइ सकेको अवस्था हुन्थ्यो भने यस किसिमले कोरोनाको प्रभाव सर्वसाधारण समक्ष यस किसिमको डरलाग्दो गरी पुग्ने थिएन । कुनै पनि कुरा हरेक क्षेत्रमा भाइरल भइ रहँदा मानव संत्रास पनि हजारौंगुणाले बृद्धि भएर जान्छ । विभिन्न समुदायर समाजका मानिसहरूले यस्ता कुराहरूलाई आ-आफ्नै किसिमले व्याख्या समेत गर्ने गरे । त्यसैले हामीले सरकारीनिकाय वा कुनै आधिकारिक निकायबाट उत्पन्न सूचनाहरूलाई मात्र विश्वास गर्नु पर्छ।
सम्बन्धित विषयका विषय विशेषज्ञहरूले तत् सम्बन्धमा व्यक्त गर्ने विचारहरू आफैमा आधिकारिक हुन सक्छन् । तर अहिले हाम्रो जस्तो खुल्ला सहभागिता रहेको समाजमा हरेक व्यक्ति कुनै न कुनै सामाजिक सञ्जालसँग आवद्ध हुने गरेका र त्यस्ता माध्यमबाट प्रसारण भएका सूचनाहरू समेतलाई आधार मानी आफ्नो मानसिकता तयार गर्ने गरेको अवस्था छ । यस्तो अवस्थामा कसले के कस्ता सूचनाहरू सामाजिक सञ्जाल मार्फत प्रसारण गर्न पाउने भन्ने कुनै निश्चित आधारहरू समेत कार्यान्वयन हुन नसकेको अवस्थामा सर्वसाधारणमा विभिन्न किसिमका भ्रमहरू सिर्जना हुन सक्छन । जनसाधारणमा यस्ता दिग्भ्रमित गराउने खालका सूचनाहरू राख्न नपाइने कानूनी व्यवस्थाहरु नभएका पनि होइनन्। तर ती कानूनहरूको पूर्णरुपमा कार्यान्वयन गराउन सरकार समेत सक्षम रहेको छैन। मुलुकमा भइरहेका आर्थिक, राजनैतिक, सामाजिक आदि विषयमा मर्यादा उल्लङ्घन गरेर व्यक्त गरिएका विचारहरूका सम्बन्धमा समेत राज्यले कुनै ठोस कार्वाही गर्न सकेको अवस्था देखिंदैन । यस्तो अवस्थामा महामारीका सम्बन्धमा पनि यस्तै कमि कमजोरीहरू भएका देखिन्छन् । विद्यमान अवस्थामा महामारीजन्य कोरोना भाइरसको असर, प्रभाव आदिका बारेमा पनि विभिन्न किसिमका परस्पर विरोधि विचारहरूले समाजमा प्रत्यक्ष असर पारिरहेका छन् । यसमा निश्चित अवधारणा न त सरकारले दिन सकेको छ न त यस महामारीको रोकथामका लागि खोप बाहेक कुनै औषधि उपचारको नै आविश्कार हुन सकेको छ । त्यसैले यस्तो बेलामा सबै सचेत नागरिकहरूले आफू सुरक्षित रहने प्रयास गर्नु वाहेकको कुनै उपचारको माध्यम फेला परेको छैन ।
कोरोनाले मानव स्वास्थ्यमा गम्भिर असर पुराउने कुरामा कसैको द्विमत रहेन । तर यसको संक्रमणबाट पुग्ने क्षतिभन्दा समाजले संक्रमितलाई गर्ने व्यवहारका कारण समाजमा यो महामारी बढि जटिल बन्न पुगेको थियो । यदि कसैलाई कोरोना पोजेटिभ मात्र देखियो भने पनि उसले आफ्नो समुदायबाट सहनु पर्ने अपमानजनक व्यवहार कोरोनाले पुर्याएको शारीरिक पीडा भन्दा धेरै गुणा जटिल हुने गरेको थियो । कोही विरामी परिहाल्यो भने उसले शाहस, उत्प्रेरणा जस्ता सकारात्मक उर्जा पाउनु त कता हो कता उसलाई सामाजिक रुप मै बहिस्कार गर्ने जस्ता दुर्व्यवहार हुने गरेका थिए । मानौं उ ठूलै अपराधि हो भन्ने जस्तो व्यवहार छिमेक, आफन्त र समाजबाट हुने गरेको सहन गर्न नसकी कैयौं व्यक्तिहरूले क्वारेन्टाइनमा आत्महत्या समेत गर्ने गरेको सत्यता हामीबाट छिपेको छैन । कुनै व्यक्तिलाई कुनै रोग वा अन्य कुनै संक्रमण हुनु उसको इच्छाको कुरा होइन । बरु उसले दैनिक जीवन सन्चालन र रक्षाको लागि गर्ने गरेका व्यवहारका कारण उसलाई संक्रमण हुने गरेको थियो । कसै कसैको लापरवाही, हेलचेक्र्याइंका कारणले पनि हुन पुगेको थियो । तर अधिकांश नागरिकहरू बाध्यताको काम गर्ने क्रममा संक्रमित हुने गरेका थिए । चाहे जे जसरी संक्रमित भएको भए पनि समाजले उनिहरूको स्वास्थ्य सुधारको मार्गमा सहयोग पुग्ने खालको व्यवहार गरिनु पर्ने थियो । कुनै पनि रोगको उपचार पचास प्रतिशतभन्दा बढि मनोपरामर्शबाट निको हुन सक्छ । उपचार प्रदान गर्ने व्यक्तिले विरामी प्रति गरेको ममतापूर्ण व्यवहार उपचारका निम्ती निकै लाभदायक रहने कुरा कैयौं अनुसन्धानहरूबाट पुष्टि भएको छ । मानिसमा प्रेरणा, उत्साह, सकारात्मक चिन्तन आदिले शरीरमा रोग पर्तिरोधात्मक क्षमता बढाउने गर्छ । त्यसैले हामीले हाम्रो दैनिक जीवनमा पनि यस्ता कुराहरूमा ध्यान दिन सक्नु पर्छ ।
शदियौदेखि चलि आएका कैयौ परम्परागत व्यवहारमा मानिस अभ्यस्त मात्र भएको हुँदैन त्यस्ता विचारहरूले उसको मन-मष्तिष्कमा दरिलो बास गरेको हुन्छ । समयको गतिसँगै जीवनमा विभिन्न समस्याहरू आइपर्छन् । त्यस्ता नविनतम अप्ठ्याराहरूको सामना पनि मानिसले समाज र समुदायमा सबैसँग मिलेर गर्नु पर्ने हुन्छ । त्यसैले कुनै दैवी प्रकोप होस वा महामारी सबैलाई प्रभाव पार्ने सामुहिक समस्याहरुको प्रतिरोध पनि सामुहिक सहभागितामा नै गरिनु पर्छ । मानिस सामाजिक प्राणि भएको हुनाले उसले आफूलाई जे मन लाग्यो त्यो आफू खुसि मात्र गर्न मिल्दैन । आफ्नो विचारलाई समाजबाट अनुमोदन गराएर मात्र लागू गराउन पर्ने हुन्छ । त्यसैले मानिसले आफ्नो व्यवहारले अरुलाई असर पारेको छ छैन जस्ता कुराहरूको विचार गरेर मात्र काम गर्नु पर्ने हुन्छ । कसैको उन्नति र अवनति दुवैकुराहरू समाज र समुदायसंग प्रत्यक्ष रुपमा अन्तर सम्बन्धित रहेका हुन्छन् । हामी रहेको समाज धेरै कुराहरूले परिपक्व हुँदै आएको छ। हिजोका पुस्ताहरूले भोगेका कैयौ अनुबवहरूका आधारमा आजको सामुदायिक यात्रा तय गरिएको हो। औपचारिक शिक्षाका विभिन्न आधारमा गरिने मूल्याङ्कनहरू भन्दा समाजका बरिष्ठहरू बसेर गरेको मूल्याङ्कन धेरै परिपक्व हुन्छ । यसैले गर्दा हरेक व्यवहारलाई सामाजिकीकरण गरेर लैजानु पर्छ ।
हिजोको कोरोना संक्रमणलाई पनि सामाजिक व्यवहारमा असर नपार्ने गरी व्यवस्थापन गरिनु पर्नेमा विभिन्न समयमा केही भ्रामक कुराहरूले पनि बढावा पाएका थिए । त्यसैले बाह्रबाह्र हजार मानिसले कोरोनाका कारण ज्यान गुमाउदा पनि सामाजिक सद्भावमा कुनै असर पार्ने खालका व्यवहारहरू समाजमा हुन पाएनन । हाम्रो जीवनमा आइ पर्ने समस्याहरू अप्राकृतिक हुदैनन् । चाहे त्यसको जस्तो असहज परिस्थिति किन आइ नपरोस समाजले हरेक कुराहरूको समाधान निकालेको हुन्छ । कोरोना संक्रमणलाई पनि सामाजिक शृङ्खला नबिग्रने गरी उपचार गरिनु पर्ने कुरामा कुनै द्विविधा रहेको थिएन । त्यसै गरी त्यसले पारेका असरहरूलाई पनि सामाजिक सद्भाव कायम राखेरै व्यवस्थापन गरिनु पर्छ भन्ने मान्यतालाई विस्तारै स्विकारिदै गएको थियो । कोरोनाबाट पीडितको मृत्यू भएको अवस्थामा आफ्नो जाति, धर्म, परम्परा, कूलको मर्यादा, सामाजिक परम्परा आदिमा चोट नपुग्ने गरी संस्कार आदि कार्य गराउनु पर्नेमा यदा कदा देखिएका समस्याहरू के हुन् भने कोरोना संक्रमितको मृत्यू संस्कारमा समेत सामाजिक बहिष्करणको अवस्था देखिएको थियो तर त्यो सधै त्यसै गरी कायम रहन भने सकेन । जसरी शरीरले रोग प्रतिरोधक क्षमता आफै उत्पादन गर्छ त्यसै गरी समाजले पनि समाजका विरूद्ध आइपरेका समस्याहरूका विरुद्धमा आफ्नो सामाजिक मूल्य रमान्यता कायम राख्नको निम्ति आवश्यक शक्ति आफै आफ्नो समाजबाट निकालेर समाजको रक्षा गर्ने गरेको हुन्छ । कोरोनाले समाजमा मानिसहरूलाई अनावश्यक डर, त्रास र भयको वातावरण सिर्जना गराइदिएको र विभिन्न माधयमबाट संप्रेषित सूचना आदिको भ्रममा परी समाजका विभिन्न सदस्यहरूलेआफ्नो सामाजिक मूल्य र मान्यता समेतलाई विर्से जस्तो व्यवहार देखाउने, न्ञुनतम मानवीय सहयोग समेत गर्न हिचकिच्याउने जस्ता अस्वभाविक व्यवहारहरू पनि देखिन थालेका थिए । तर यस्ता कुराहरूले वर्षौदेखी प्रचलनमा रहेका कतिपय राम्राकुराहरूलाई पनि धराशायी बनाइदिन सक्ने सम्भावना रहन्छ । त्यसैले हामीले जुनसुकै बेला जस्तो सुकै समस्या आइपर्न सक्छ भन्ने मान्यताका साथ सामाजिक व्यवहार गरेर हाम्रो सामाजिक मूल्य मान्यतालाई जोगाएर राख्न सफल भएकाछौं । त्यसैले व्यक्ति भन्दा परिवार, परिवारभन्दा समुदाय, समुदाय भन्दा समाज र समाजभन्दा राज्य ठूलो हुने र सोही बमोजिम आफ्नो स्थान र मर्यादाको ख्याल राखि आइ पर्ने व्यवहार गरिनु पर्छ भन्ने पक्षलाई नै हामीले सामाजिक जीवनको संज्ञा दिएका छौं ।
उपरोक्त विषयहरूको सामान्य विश्लेषण गरियो भने हाम्रो जीवन र सामाजिक मूल्य मान्यता तथा संकट र समस्यामा सामाजिक शक्तिको भूमिका आदिका बारेमा स्पस्ट अवधाराणा बनाउन सकिन्छ । सामाजिक जीवन एक्कोहोरो फाइदाको सिद्धान्तमा सञ्चालन हुन सक्दैन । व्यक्ति र समाज एक अर्काका परिपूरक हुन् । व्यक्तिहरूको अभावमा समाज बन्न सक्दैन । त्यसै गरी समाजको मान्यता विपरित व्यक्तिले आफ्नो जीवन सन्चालन गर्न सक्दैन । सुख वा दुःखमा व्यक्ति समाजसँग निर्भर रहेको हुन्छ। त्यसैले हामीले मर्दाको मलामी र जिउँदाको जन्ति भन्ने उखानलाई आत्मसात गर्दै आएका छौँ । अहिलेको कोरोना संक्रमण र यसले समाजमा पार्न खोजेको सामाजिक विशृङ्खलतासम्बन्धमा पनि हामीले गम्भीर रुपमा सोचेर व्यवस्थापन गर्नु पर्छ । स्वास्थ्यका दृष्टिले जोखिम हुनु महामारीको विशेषता नै हो । तर त्यसका जोखिमका नाममा सामाजिक तथा सामुदायिक प्रेम, सद्भाव, सहयोग, सदाचार, सहिष्णुता आदिमा खलल पर्ने कुनै पनि कार्य गर्नु गराउनु हुँदैन ।

त्यसैले कोभिडको संकट र यसबाट मूक्तिको लागि हामीले सामाजिक शक्तिको माध्यमबाट सजिलै निकास निकाल्न सकिन्छ । यसैमा सबैको कल्याण हुन्छ ।२०७६ सालको चैतबाट आज सम्म आइपुग्दा पनि समाजमा कोरोनाको त्रासदि रहेकै छ तर हिजोको जस्तो रुपमा आम नागरिकहरूले लिएका छैनन । आज पनि सयौ मानिस कोरोना संकरमित रहेको देशमा सर्वसाधारणले मास्क समेत नलगाइ खुलेर यात्रा गरिरहेका छन् । यो सबै हुनुमा मनोवैज्ञानिक र सामाजिक शक्तिको महत्वपूर्ण भूमिका रहेको छ । यसैले यस तिहारमा देउसी भैलो खेल्दा र छठ पर्व मनाइरहदा र आगामि आउने चुनावमा समेत हामिले स्वास्थ्य सतर्कतालाई नजरअन्दाज नगरौं ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend