
अमृता अनमोल
बुटवल, नागरिक हुनका लागि सबैभन्दा महत्वपूर्ण पहिचान जन्मदर्ता, नागरिकता र विवाह दर्ता हुन् । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले भने आफूहरुयही अधिकारबाट वञ्चीत भएका छन् । यही कारण व्यक्तिगत घटना दर्ता, नागरिकता र रोजगारीमा समस्या रहेको उनीहरुको दुखेसो छ।
रुपन्देहीका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायक ासवालमा परामर्श गोष्ठीमा सहभागीले आफ्नो पहिचान अनुसार नागरिकता नपाउदा पाइला पाइलामा समस्या भोगेको बताए । सहभागी विनोद विसीले जैविक सरीर भन्दा फरक लिंगीको पहिरन र स्वभाव देखाउन थालेपछि अझैपनि घरपरिवारबाट निकालिने र त्यस्तालाई घरपरिवारले सनाखत नगरिदिदा नागरिकता नपाएको बताए ।
नेपालको संविधानले लिंगको आधारमा कसैलाई भेदभाव नगर्ने बताएको छ । तर, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार नया देवानी संहिताले समेट्न नसक्दा अन्यको नाममा नागरिकता लिन जानेलाई प्रमाण र मेडिकल परिक्षणको प्रतिवेदन मागिन्छ । उक्त समुदायकी अवन्तिका घर्तीले यो बुझाउन नसक्नेले फरक पहिचानमा नागरिकता नपाएको गुनासो गरिन् ।

राज्यले महिला, दलीत, जनजाति अल्पसंख्यक लगायत १३ समूहलाई लक्षीत वर्ग मानेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकलाई त्यसमा समेटिएका छैनन् । यहींकारण तीन तहकै सरकारले उनीहरुको वृत्ति विकासमा ध्यान नदिएको उनीहरुको गुनासो छ । लोकसेवा आयोगले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई यौनिक तथा लैंगिक अल्पसंख्यकलाई प्रवेश नै दिएको छैन । नीजी तथा अन्य सामुदायिक संस्थाले यसले उनीहरुको जागिर खाने अवसर खोसिएको छ । भैरहवाका रोज मगरले यहीकारण कतिपय यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अहिले पनि यौन पेशा अपनाउन बाध्य भएको बताए ।
अधिकारकर्मी आनिक रानाले सार्वजनीक संरचना लैंगिकमैत्री नहु“दा दिसापिसाब फेर्न समेत समस्या हुने बताइन् । उनले फरक लिंग र भावना भएकै कारण हुने भेदभाव रोकी यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आफ्नो इच्छाअनुसार नागरिकता र विवाहमा स्वतन्त्रता दिन एवं शिक्षा र रोजगारमा अवसर दिन माग गरिन् ।
ब्लु डायमण्ड सोसाइटीका कार्यकारी निर्देशक मनिषा ढकालले अन्य लिंगी भएकै कारण विद्यालयले निश्काशन गर्ने र स्वास्थय चौकीका स्वास्थ्यकर्मीले उपचारमा भेदभाव गर्ने गरेको बताउदै त्यसमा सरकारले सहजीकरण गर्नुपर्ने बताइन् । अधिकारकर्मी भूमिका श्रेष्ठले स्थानीय तहले दिने सेवा र सुबिधालाई लैंगिकमैत्री बनाउन आग्रह गरिन् ।
प्राकृतिक लिंगभन्दा पोशाक र व्यवहार फरक हुने यौनिक तथा लैंगिक अल्पसंख्यक हुन् ।सामान्यतया महिलाको पोशाकमा सजिने प्राकृतिक रुपमा पुरुष हुन्छन् । पुरुषको पोशाकमा सजिने प्राकृतिक रुपमा महिला हुन्छन् । निलहिरा समाजका अनुसार देशभरमा करिब ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक छन् । घरपरिवार र समाजमा हुने विभेदका कारण धेरैजसो भने लुकेर बस्न बाध्य छन् । यही कारण जनगणना २०७८ मा २ हजार ९ सय २८ व्यक्ति मात्रै अन्य लिंगीमा सुचिकृत छन् ।
सियारी गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिमा काम गर्ने बताए ।

लुम्बिनी रिभ्यू