
बुटवल । मेला,महाेत्सवकाे माहाैल चलिरहेका बेला रुपन्देहीको सैनामैनामा मङ्सिर ६ गतेदेखि छैटाैं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, औद्योगिक तथा प्रविधि, व्यापार महोत्सव २०८० सुरु हुँदैछ ।
सैनामैना उद्योग वाणिज्य सङ्घको आयोजनामा सैनामैना नगरपालिका–३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा हुने महोत्सव मङ्सिर १७ गतेसम्म सञ्चालन हुने छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिने बताउनुभयो ।
उहाँले सैनामैना पुरातात्विक क्षेत्रको ऐतिहासिक स्थल पनि भएकाले महोत्सवबाट उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवम् सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घका महासचिव लोकनाथ अधिकारीले महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी, स्थानीय कृषि उत्पादनको प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रदर्शनी हुने बताउनुभयो ।
महासचिव अधिकारीका अनुसार महोत्सवमा स्थानीय कला संस्कृतिको संरक्षण गर्न मद्दत पुग्नुका साथैै स्थानीय उत्पादन र कृषिको प्रदर्शनी गरिने छ ।
महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावनाबारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिने भएको छ ।
महोत्सवको आकर्षणको रुपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति, नगरस्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, डान्सिङ आइडल, मम्मी डान्स प्रतियोगिता पनि रहनेछन् ।
यसैगरी, भजन प्रतियोगितासँगै लोकदोहोरी र र्याप गीत प्रतियोगिता पनि महोत्सवको आकर्षण हुने महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक कृष्ण पोखरेलले बताउनुभयो ।
महोत्सवको साढे तीन लाख दर्शकले अवलोकन गर्ने तथा पाँच करोडभन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन् ।
महोत्सव स्थलमा अहिले मञ्च निर्माण, स्टल व्यवस्थापनलगायतका काम भइरहेको छ ।

लुम्बिनी रिभ्यू