• Saturday 25th July 2026

विमानस्थल नियमित सञ्चालनको माग गर्दै नियमित विराेध

विमानस्थल नियमित सञ्चालनको माग गर्दै नियमित विराेध


  • लुम्बिनी रिभ्यू

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देहीमा रहेका निजी क्षेत्रका संघ संस्था, राजनीतिक दल तथा सामाजिक संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा विमानस्थलअघि निरन्तर धर्ना र विरोध प्रदर्शन भइरहेको छ । धर्नास्थलमा यस क्षेत्रमा क्रियाशील राजनीतिक दल, संघ संस्था र स्थानीय बासिन्दा स्वतःस्फुर्तरुपमा पुगेर ऐक्यबद्धता जनाएका छन् । ‘सबैको साथ र सहयोगले हाम्रो विरोधको कार्यक्रम सफल भएको छ’ आन्दोलनको नेतृत्व गरेको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले भन्नुभयो, ‘विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकारलाई दवाव पुगेको विश्वास छ ।’

सञ्जालमा आबद्ध तीन दर्जन बढी संघ संस्थाले गरेको आन्दोलनमा एकपछि अर्को गरी संघ संस्थाहरुले ऐक्यबद्धता जनाइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्जाललाई पत्र काटेर पुस २ गते काठमाडौंमा छलफका लागि बोलाएको छ ।

सञ्जालका पदाधिकारी उक्त छलफलमा सहभागी हुने जनाएका छन् । सरकारले पटक–पटक झुक्याएको र ज्ञापनपत्रमार्फत् जानकारी गराउँदा समेत विमानस्थल पूर्ण क्षमतामा चलाउन पहलकदमी नगरेको गुनासो उहाँहरुको छ ।

धर्ना कार्यक्रममा पुगेर नेकपा (एमाले), माओवादी, जसपा, लोसपा, काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, राप्रपालगायतका दलले आफूहरुको पूर्ण साथ र सहयोग रहेको बताएका छन् । यसले आन्दोलनलाई थप प्रभावकारी बनाएको छ ।

यस्तै, रुपन्देही उद्योग संघले उडान नियमित हुनुपर्ने माग राख्दै सिद्धार्थ सञ्जालको नेतृत्वमा भैरहवामा भैरहेको दबाबमूलक कार्यक्रममा साथ दिएको छ ।

रुपन्देही उद्योग संघको टीम सहभागी भइ आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो । धर्ना कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले सरकारको अरबौं लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भनेर निजी क्षेत्रले माग राख्नुपरेको बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend