बुटवल । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याका वारेमा अध्ययन गर्न पूर्व पर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा आएको छ । समितिले विमानस्थल अवलोकन गर्नुका साथै परिसरमै अन्तरसंवाद गर्ने कार्यक्रम बनाएको छ । यो समितिमा रुपन्देही क्षेत्र नं २ बाट संघीय सांसद रहेका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, क्षेत्र नं १ का सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, क्षेत्र नं ४ का सांसद सर्वेन्द्रनाथ शुक्ला, क्षेत्र नं ५ का बासुदेव घिमिरे, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीलगायत छन् । समितिले असार १६ गतेदेखि १८ गतेसम्मको कार्यतालिका बनाएर आइतबार राती भैरहवामा आएको हो । सोमबार विमानस्थलको ऐतिहासिक पृष्ठभूमि, निर्माणमा गरिएको जम्मा लगानी, वैदेशिक ऋण, अनुदान, स्वदेशी। निर्माणको आवश्यकता र औचित्य, निर्माणमा रहेका त्रुटिहरु, विमास्थलको क्षमता र विस्तार, उद्देश्यबमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौति, विमानस्थल निर्माणको उद्देश्यअनुरुपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । टोलीमा
सार्वजनिक लेखा समिति प्रदेश सभा, लुम्बिनी प्रदेश, मुख्यमन्त्री, पर्यटनमन्त्री र प्रमुख सचिव, पर्यटन सचिव, जिल्ला प्रशासन कार्यालय, रुपन्देही, तीनवटै सुरक्षा निकायका रुपन्देही जिल्ला प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, संघीय संसद र प्रदेश सभाका जनप्रतिनिधि (रुपन्देही, नवलपरासी र कपिलवस्तु), ना।उ। आयोजना कार्यालय, अध्यागमन र भन्सार कार्यालयका प्रमुखहरु, लुम्बिनी विकास कोषका पदाधिकारी, उद्योग बाणिज्य संघका प्रतिनिधिहरु, रुपन्देही, होटल एसोसियसनलगायत पर्यटन क्षेत्रका जिल्ला प्रतिनिधिहरुलाई समेट्ने कार्यक्रम रहेको छ । टोली सोमबार साँझ लुम्बिनी जाने र त्यहाँको गुरुयोजनाका् विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान संख्या भने वृद्धि नहुँदा स्थानीय तथा व्यवसायी निराश छन् । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्ष जजिरा एयर लायन्सले नियमित उडान भरेकाले यहाँको चहलपहल ठीकै थियो तर जजिराले हाल उक्त उडान रोकेपछि सुनसान बनेको छ । नियमित उडानका लागि सरकारले चासो नदिएपछि लगातार आन्दोलन पनि भइरहेका छन् । उडान संख्या वृद्धि नभएपछि पर्यटनबाट लाभ लिने आसमा लगानी गरेका व्यवसायी यतिबेला संकटमा छन् ।
सरकारले यहाँ ३५ अर्बभन्दा धेरै लगानीमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल सञ्चालनमा ल्याएको हो । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी र आसपास क्षेत्र लक्षित गरेर विमानस्थल निर्माणले पर्यटक आवागमनमा वृद्धि हुने आसमा निजी क्षेत्रले होटल व्यवसायमा लगानी गरेका हुन् ।
गौतमबुद्ध विमानस्थल कार्यालयका अनुसार सञ्चालनमा आएको पहिलो वर्ष सन् २०२२ मा ३१ हजार ३ सय ५५ यात्रु यहाँबाट बाहिरिएकामा २०२३ मा घटेर ४ हजार ७ सय ५१ जनाले उडान भरेका थिए । २०२४ मेसम्म करिब १ हजार जना मात्रै यहाँबाट विभिन्न मुलुक गएको देखिएको छ । जजिरा एयर लायन्सले उडान गरेको वर्ष यहाँबाट धेरै यात्रु बाहिरिएका हुन् । जजिराले सातामा तीन दिन गरिरहेको उडान रोकेपछि नेपाल एयरलायन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवाका लागि सातामा एक दिन कनेक्टिङ उडान मात्र गरिरहेको छ । जसले गर्दा यहाँ यात्रुको संख्या वृद्धि हुन नसेको हो ।
जाडोयाममा भिजिबिलिटी नहुने भएकाले उडान रद्द गर्नुपर्ने बाध्यता छ । यस्तो बेला उडानका लागि जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम ९आईएलएस० विधि अझै उपयोगमा ल्याउन सकिएको छैन । आईएलएस सञ्चालनका लागि भारतको स्वीकृति जरुरी पर्ने भएकाले सञ्चालनमा ल्याउन नसकिएको हो । भू–उपग्रहमा आधारित विधि उपयोग गरेकामा एक हजार मिटर भिजिबिलिटीमै अवतरण गर्न सम्भव हुने र यो विधि जडानका लागि थप खर्च नलाग्ने भएकाले यसको उपयोगका लागि विज्ञहरुले अनुरोध गरिरहेका छन् ।
यहाँबाट उडान भर्ने विमान कम्पनीको संख्या धेरै नभएकाले यात्रुका लागि रोजाइको विकल्प छैन । अर्कोतर्फ विदेश जानका लागि आवश्यक प्रक्रिया काठमाडौंमा पूरा गरेर भैरहवा आएर उडान भर्न सहज छैन । काठमाडौंबाट धेरै विमान कम्पनीले उडान भर्ने र हवाई कम्पनीपिच्छे भाडा दर फरक रहेकाले यात्रुले जहाज रोजेर उडान भर्न पाएका छन् । यहाँ उडान भर्न चासो दिइरहेका विमान कम्पनीले सेवा शुल्क छुट, हवाई टिकटमा लागू गरिएको भ्याट हटाउनुपर्ने, यहाँ ल्यान्डिङरपार्किङमा शुल्क छुट र ग्राउन्ड ह्यान्डलिङ शुल्क छुट माग गरिरहेका छन् । ‘
अहिले जजिरा र बिच एयरलाइन्सले उडानका लागि प्रस्ताव गरिरहेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थलमा उडान संख्या वृद्धिका लागि दुई वर्षदेखि दबाबका कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनका अनुसार संघले अहिलेसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई पटक तथा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल र माधव नेपाललाई पनि विमान पूर्ण सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाइसकेको छ ।
विमानस्थल लक्षित गरेर रूपन्देही र आसपास ४० अर्ब रुपैयाँभन्दा बढी होटल व्यवसायमा लगानी भएको र निर्माणाधीन आधा दर्जन तारे होटलको काम रोकिएको श्रेष्ठले बताए ।

लुम्बिनी रिभ्यू