• Saturday 25th July 2026

मनाइदै ऋषिपञ्चमी

मनाइदै ऋषिपञ्चमी


  • लुम्बिनी रिभ्यू

बुटवल,  ऋषिपञ्चमी हिन्दू संस्कृतिअन्तर्गत नारीहरूको एक महत्वपूर्ण पर्व हो, जुन प्रत्येक वर्ष तिजको पर्सिपल्ट अर्थात् भाद्र महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ । जसले ऋषिहरूसँगको सम्बन्धलाई बलियो बनाउने काम र विशेष गरि महिलाहरूले ऋषिहरूलाई सम्झेर यो दिनलाई विशेष गरी ऋषिहरूप्रति श्रद्धा अर्पण सम्झेर आफ्नो पञ्चभौतिक शरीरलाई शुद्ध पार्नका लागि अरुन्धतीसहित सप्‍त ऋषिहरूको पूजा गरी व्रत बस्ने प्रचलन रहेको छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकै कारणले गर्दा आजको पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो ।

महिलाले आजको दिन बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीको किनारामा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । स्नान गरेर पञ्चगव्य ९गाईको गहूँत, दूध, दही, घ्यू, गोबर० सेवन गर्ने प्रचलन छ । त्यसपछि शुद्ध वस्त्र लगाएर महिलाहरू सप्तऋषिहरूको पूजा गर्न विशेष विधि अपनाउँछन् । यस दिनको पूजा विधिमा सप्तऋषि मन्दिरमा गई वा मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजाआरधना गर्ने गरेका छन् ।

मूर्ति स्थापना वा कुशको ऋषि बनाई पूजा गरी, अरुन्धती सहित ऋषिहरूको चरणमा यथा शक्ति र भक्तिद्वारा गुरु पुरोहितको निर्देशन अनुसार काँस, कुश, दुबो, फल, प्रसाद अर्पण गरिन्छ । यसमा ३६५ वटा गनेका सामग्रीहरू जस्तै कि अक्षता, जउ, तिल, फूल, बत्ती, पान, सुपारी आदिद्वारा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्‍ठ, कश्यप र विश्वामित्र ऋषिहरूको पुजा गरिन्छ । पूजाआजा गरेपछि दिउल ९बियाँ० नफुटेको खानेकुरा जस्तै कि सामा, कागुनो, कर्कलो, आलु, तरुल, तामा आदि खाई एकछाक हविष्य बस्नुपर्ने व्रत विधि रहेको छ ।

यस पर्वको माध्यमबाट हाम्रा प्राचीन परम्पराहरूलाई हाम्रो सन्ततिहरू मार्फत जीवित राख्दै, नयाँ पुस्तामा प्रसार गरी धार्मिक शिक्षा र संस्कारको महत्वलाई सन्देश दिन खोजिएको देखिन्छ
आजको दिन रजस्वला हुँदाको समयमा या रजस्वला भएको दिनहरूमा जानेर वा नजानेर खाद्य पदार्थ, भाडाबर्तन, भान्साकोठा वा पुरुषलाई स्पर्श आदि स्पर्श दोषको पाप लाग्दछ भन्ने धार्मिक मान्यता रहेको छ ।

अतस् आफूबाट केही जाने अन्जानमा गल्ती या अमर्यादित क्रियाकलाप भएको भए क्षमा याचनाको लागि र धार्मिक दृष्टिबाट शरीर शुद्धिका लागि पूजा अर्चना गर्ने दिन यही ऋषिपञ्चमी हो ।

हाम्रो धर्मग्रन्थहरूमा नारीलाई रजस्वलाको प्रथम दिन चाण्डालिनी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रथमेऽहनि चाण्डाली द्वितीये ब्रह्मघातिनी ।

तृतीये रजकी प्रोक्ता चतुर्थेऽहनि शुद्धयति ।।

पौराणिक प्रसङ्ग अनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले ब्रह्महत्याको ठूलो पापको दण्ड व्यहोर्नु पर्‍यो । त्यो ब्रह्महत्याबाट मुक्ति पाउन त्यो पापलाई चार स्थानमा बाँडियो जसमध्ये पहिलो धुँवामिश्रित पहिलो आगोमा, दोस्रो वर्षाकालको पानीको गाँजमा या मैलोयुक्त पानीमा, तेस्रो लस्सेदार ९खोटोयुक्त० वृक्षहुने पर्वतमा र चौथो रजस्वला भएको स्त्रीमा ।

यही चौथो पापबाट उन्मुक्ति पाउन परापूर्व कालदेखि चलिआएको र आजका दिनमा पनि अरुन्धतीसहित सप्तऋषिहरूको पूजा गर्ने र व्रत लिने परम्परा छ, जुन शास्त्रोक्त छ । आजकै दिन काठमाडौंको टेकु स्थित सप्तऋषि मन्दिर सहित देशैभर रहेको सम्पूर्ण ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि महिला श्रद्धालुहरूको बाक्लै उपस्थिति रहेको देख्न सकिन्छ ।

यस दिनको पूजा र व्रतले परिवारका सदस्यहरू बीचको स्नेह र सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउँछ साथै धार्मिक र सांस्कृतिक मूल्यमान्यताहरूको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँछ । यस पर्वको माध्यमबाट हाम्रा प्राचीन परम्पराहरूलाई हाम्रो सन्ततिहरू मार्फत जीवित राख्दै, नयाँ पुस्तामा प्रसार गरी धार्मिक शिक्षा र संस्कारको महत्वलाई सन्देश दिन खोजिएको देखिन्छ ।

(पण्डित नारायणप्रसाद दुलाल, ज्योतिषाचार्य र वास्तुविद्)

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend