• Saturday 25th July 2026

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हिंजरा सस्कृति चिनाउन रुपन्देहीमा हिंजरा सम्मेलन

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हिंजरा सस्कृति चिनाउन रुपन्देहीमा हिंजरा सम्मेलन


  • लुम्बिनी रिभ्यू

रुपन्देही, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हिंजरा सस्कृति चिनाउन रुपन्देहीमा हिंजरा सम्मेलन आयोजना गरिएको छ । द एसिया फाउण्डेसनको युएसएआईडी नागरिक समाज र सञ्चार कार्यक्रम अन्तरगत साहसी कदम नेपालले मंसिर १६ र १७ गते महोत्सवको आयोजना गरेको हो । हिजरा सस्कृतिको संरक्षण, संवद्धन गर्न र व्यवसायिक बनाउन महोत्सवको आयोजना गरिएको साहसी कदमका अध्यक्ष हसिना क्षेत्रीले बताइन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्रको नाचगान गर्ने र दक्षिणा लिने यौटा संस्कृति हो, हिजरा संस्कृति । जो बिहे, पूजा, सन्तान प्राप्ती लगायतका शुभकार्यमा गएर नाचगान गर्छन् । आशिष दिइन्छ र त्यसबापत दक्षिणा लिइन्छन् । हो, त्यही संस्कृतिको संरक्षण, प्रवद्धन र तिनका आयामबारे अन्य समूदायलाई जानाकारी दिन रुपन्देहीमा हिजरा समूदायको सम्मेलन नै आयोजना गरिएको छ ।
महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास समिति सभापति यमबहादुर नेपाली सार्कीले अल्पसंख्यक समुदायभित्र पनि अझ अल्पसंख्यकका रुपमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको उत्थान र विकासका लागि प्रदेश सरकारले काम गर्ने बताए । उनले भने, ‘यो समूदायको पहिचानका लागि संघीय सरकारले काम गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका काममा प्रदेश सरकारले लगानी गर्नेछ ।’
महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष शुशिला बेल्वासेले यौनिक तथा लैंगिक अल्पसंख्यकको सीप, कला, सस्कृति संरक्षणसँगै अधिकार प्राप्तिका लागि समेत काम गर्नुपर्ने बताइन् ।
ब्लु डायमण्ड सोसाइटीका अध्यक्ष पिंकी गुरुड.ले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायभित्र पनि अझ बढी पछाडि परेको र नाचगान गरेर गुजारा चलाउने हिंजरा समूदायलाई सस्थागत गर्नुपर्ने बताइन् । उनले अब यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय अधिकार प्राप्तिकालागि एक हुनुपर्ने बताइन् ।


आइतबार उद्घाटन कार्यक्रममा हिंजरा सस्कृति देखाएर कार्यक्रम सुरु गरिएको थियो । हिंजरा सम्मेलनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका हिंजरा सस्कृति अपनाउने व्यक्तिहरुलाई सहभागी बनाइएको साहसी कदमका उपाध्यक्ष सरोजी न्यौपानेले बताइन् ।
सामान्यतया, जैविक रुपमा सरीर पुरुषको तर, मन महिलाको हुने वा सरीर महिलाको हुने तर मन पुरुषको भएका व्यक्ति यौनिक तथा लैंगिक अल्पसंख्यक हुन् । भारत पाकिस्तान एवं नेपालको तराई क्षेत्रमा शुभकार्यमा नाचगान गर्ने र आशिष वापत रकम लिएर गुजारा चलाउने यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय हिजरा हुन् ।

कार्यक्रम संयोजक रेशम न्यौपानेले २ दिनसम्म चल्ने   महोत्सवमा विभिन्न विषयमा प्यानल डिस्कर्सन समेत हुने बताए । आइतबार यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकारका विषयमा संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल, अधिवक्ता इन्दिरा आचार्य लगायतको सहभागितामा प्यानल छलफल गराइएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend