• Saturday 25th July 2026

काम समान ,महिला भएकै कारण ज्याला असमान

काम समान ,महिला भएकै कारण ज्याला असमान


  • लुम्बिनी रिभ्यू

अमृता अनमोल
बुटवल , मंसिर १ – कपिलवस्तुको वाणगंगाकी शुशिला चौधरी निर्माण मजदुर हुन् । बिहान ७ बजेदेखि दिनभर सिमेन्ट बालुवा मुछ्ने र इंटा बोक्ने काम गर्छिन् । त्यसबापत उनले दिनको ५ सय रुपैयाँ ज्याला पाउंछिन् । तर उनीसंगसंगै उस्तै काम गर्ने उनका पति दलबहादुर चौधरीले भने दिनको ६ सय रुपैयाँ ज्याला पाउंछन् । उनीहरु दुवैजना बुटवल गोरुसिंगे सडक विस्तार आयोजनामा काम गरिरहेका छन् । काम जहाँ गरेपनि उनीहरु आयोजना होइन त्यहाँ पेटी ठेक्का लिने ठेकेदारसँग मात्र निर्भर रहन्छन् ।
समान काम गर्दा पनि असमान ज्याला किन त ? निर्माण मजदुर शुशिला भन्छिन्, “निर्माणका काममा सधै यस्तै हो । पुरुष सरह काम गरे मात्र होइन पुरुषले भन्दा धेरै काम गरेपनि ज्याला भेदभाव हुन्छ । महिला भएकै कारण थोरै ज्याला पाइन्छ ।”
शुशिला र दलबहादुर जस्तै महिला पुरुष सँगसँगै निर्माण मजदुरीको काम गर्ने कपिलवस्तुको वाणगंगा ४ नम्बरकै राजेन्द्र प्रसाद थारुले दिनको ७ सय ५० रुपैयाँ ज्याला पाउंछन् । उनकी पत्नी जयन्तीले भने दिनको ५ सय रुपैयाँमै चित्त बुझाउनु पर्छ । ५ वर्षदेखि निरन्तर निर्माण मजदुरीको काम गरीरहेका उनीहरुको सुरुदेखि नै पारिश्रमिक असमान छ ।
कानुनले महिला पुरुषकालागि समान काममा समान ज्यालाको व्यवस्था गरेको छ । तर धेरै मजदुर महिलाहरुले समान कामको समान ज्याला अझै पाएका छैनन् । यसले गर्दा महिला मजदुरहरुमा निराशा जन्माएको छ । निर्माण मजदुर जयन्ती भन्छिन् “फरक कामको फरक ज्याला ठीकै हो । तर समान समयबाट समान काममा घोटिदा पनि ज्याला असमान दिदा सारै दु ः ख लाग्छ ।”कानुनमा व्यवस्था भएपनि समान काममा समान ज्याला पाउनु पर्ने माग राख्दा कामबाट वञ्चीत हुनु परेको मजदुरहरुको गुनासो छ ।
पछिल्लो समयमा महिला मजदुरको संख्या ह्वात्तै बढेको छ । निर्माण मजदुरीको काम गर्ने महिला पनि बढेका छन् । तर, पुरुष र महिला मजदुरबीच पारिश्रमिकमा असमानता छ । महिला पुरुष उस्तै काम गर्दा र उत्ति घण्टा काम गर्दा पनि महिला मजदुरले कम पारिश्रमिक पाउछन् । तर, समान काममा पनि असमान ज्याला दिदा महिला मजदुरहरु निराश छन् । निर्माण क्षेत्र असंगठित क्षेत्र हो । निर्माणजस्तै कृषि, यातायात लगायतका असंगठित क्षेत्रमा पनि मजदुरहरुले कम ज्याला पाउछन् ।
उसोत, श्रमिक अर्थात् मजदुरका क्षेत्रमा काम गर्ने थुप्रै संघसस्था छन् । तर, निर्माण मजदुरका क्षेत्रमा पाउने असमान ज्यालाबारे बहस चल्दैन । यसैपनि निर्माण मजदुर आफूले पाउने ज्यालाबारे बोल्दैनन् । कोही बोले कामबाटै निकालिन्छन् । कपिलवस्तुको वाणगंगाकै निर्माण मजदुर राधिका चौधरी त्यसको उदाहरण हुन् । ४ वर्षदेखि निर्माण मजदुरको काम गरेकी उनले गत वर्ष काम छोडिन् । काम छोड्नुको कारण हो ज्याला विवाद । दैनिक ४ सय ५० रुपैयाँ ज्याला बुझ्ने उनले आफ्नो ज्याला बढाउन माग गरेकी थिइन् । तर ठेकेदार सुरज थापाले उनलाई कामबाटै निकालिदिए । राधिकाले शुशिला र जयन्तीसँगै काम गर्थिन् । त्यो देखेकी शुशिला भन्छिन्, “हामीलाई सरकारले कति ज्याला दिन्छ थाहा हुँदैन । सरकारी निजी जसको काम भएपनि हामीलाई ल्याउने र काम अह्राउने ठेकेदार कम्पनीले पनि होइन । पेटी ठेक्का लिने ठेकदारले हो । त्यसैले पेटी ठेकदार खुसी भए मात्र ज्याला बढ्छ । नत्र बढ्दैन ।”
उसो त, पछिल्लो समय असंगठित क्षेत्रका मजदुर महिलाका समस्या र गुनासा सुन्न बेलाबेलामा कपिलवस्तुमा पनि कार्यक्रम हुन थालेका छन् । तर, त्यस्ता छलफलमा काममा खटिने महिलाहरुको सहभागिता असाध्यै न्युन हुने गरेको छ । यसले पनि वास्तविक समस्यामा परेका महिला मजदुरहरुका समस्या बाहिर आउन र समाधान हुन सकेका छैनन् । वाणगंगा नगरपालिकाका उपप्रमुख रीता चौधरी पछिल्लो समय नगरभित्रका असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई संगठित गर्न लागेको बताउछिन् । “असंगठित क्षेत्रका मजदुर संगठित गर्न सके बल्ल उनीहरुको पारिश्रमिक कस्तो छ ? समस्या कस्तो कस्तो छ ? भनेर खोज्न सकिने छ । समस्या समाधानमा पनि पहल गर्न सकिने छ ।” उनले भनिन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend