• Saturday 25th July 2026

गुरुयोजना निर्माण गरेर सडक संजाललालाई व्यवस्थित बनाउने एमालेको प्रतिवद्धता

गुरुयोजना निर्माण गरेर सडक संजाललालाई व्यवस्थित बनाउने एमालेको प्रतिवद्धता

एमाले रुपन्देहीको क्षेत्र नं ५ को प्रतिवद्धता


  • लुम्बिनी रिभ्यू


लुम्बिनी । रुपन्देहीको क्षेत्र नं. ५ मा रहेका सडकहरुलाई व्यवस्थित र योजनाबद्ध रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिने भएको छ । नेकपा एमालेलेल सडकहरुलाई आवश्यकता र औचित्यको आधारमा विस्तार गरी कालोपत्रेको साथसाथैं अन्य पूर्वाधार विकास गर्न गुरुयोजना बनाउने प्रतिबद्धता जनाएको हो ।
एमालेले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा जारी गरेको प्रतिबद्धता पत्रमा विस्तृत सडक गुरुयोजना तयार पार्ने कार्य संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा गरिने उल्लेख छ । एमालेले सालझण्डी—वनकट्टा—ताली—भचना—गजेडी हुँदै क्रान्तिचोक जोड्ने सडक निर्माण पूरा गर्ने, कलौनी—लुम्बिनी सडकलाई चार लेन बनाउने प्रतिबद्धता जनाएको छ ।
यस्तै बाँसगढीदेखि गजेडी हुँदै सूर्यपुरा जोड्ने कृषि सडकको स्तरोन्नती गर्ने, कञ्चन—लुम्बिनी—गैडहवा—मायादेवी—शुद्धोधन—सियारी जोड्ने सडक निर्माण गर्ने, मूर्गिया—हसनापुर—धुसुवा—सूर्यपुरा—पहाडिया कुट्ट—लुम्बिनी र बुद्धनगर—किसुली बेलवालगायतका उत्तर—दक्षिण जोड्ने सडकमा आवश्यकता अनुसार पुल निर्माण गरिने पनि एमालेको प्रतिबद्धता छ ।
फारलाइनदेखि रुद्रपुर—विसनुपुरा हुँदै लुम्बिनी जोड्ने सडकलाई दुई लेन बनाउने, कक्रहवा—लुम्बिनी—सालझण्डी—ढोरपाटन सडकको निर्माणलाई तीव्रता दिइने, महजिदियादेखि धमौली हुँदै सूर्यपुरा सडकको स्तरोन्नती गरी कालोपत्रे गर्ने, हुलाकी सडक, कृषि सडक र मुख्य सडकहरुलाई स्तरोन्नती गरी कालोपत्र गर्ने पनि एमालेको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
लुम्बिनी—तिरौलाकोट—सैनामैना—बुटवल—देवदह जोड्ने गरी बुद्ध सर्किट सडक निर्माणमा जोड दिने, दातृ संस्थाहरुको सहयोग समेतमा निर्माण हुने पश्चिम शहरी करीडोर योजना कार्यान्वयनमा सहयोग गर्ने, शान्ति सुरक्षाको लागि आवश्यकता अनुसार प्रहरी चौकी थप गर्ने समेत एमालेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
छोटो दुरीका बाटाघाटा गाभ्रेल तथा कालोपत्रे गर्ने कार्यमा स्थानीय सरकारसँग सहकार्य गरिने एमाले उम्मेदवारहरुले जनाएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा जसपा र राप्रपासँग तालमेल गरेको एमालेले रुपन्देही क्षेत्र नं. ५ मा प्रतिनिधिसभातर्फ बासुदेव घिमिरे र प्रदेशसभा तर्फ भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend