बुटवल – स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सदीक्षा चापागाईले बेलैमा समस्या पहिचान गरे प्रजनन स्वास्थ्य समस्या र मातृमृत्यु घटाउन सकिने बताएकी छन् । समयमा उपचार नभएका कारण प्रजनन समस्या बढ्ने र नियमित गर्भ परिक्षण र जटिलता नबुझ्दा प्रसुति नहुदा मातृ मृत्यु भइरहेको उनले बताइन् ।
फेयरमेड र इन्द्रेणी ग्रामिण विकास केन्द्र रुपन्देहीको सहयोगमा संचारिका समूह लुम्बिनीले शनिबार बुटवलमा आयोजना गरेको प्रजनन स्वास्थ्य समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । गर्भवतीले कम्तीमा ८ पटक स्वास्थ्य परिक्षण गराउनु पर्ने मापदण्ड भएपनि अझैपनि प्रसुति घरमा हुने महिलाका कारण जोखीमता नघटेको उनले बताइन् ।
स्वास्थ्य सर्वेक्षण २०७८ ले लुम्बिनी प्रदेशमा देशकै सबैभन्दा धेरै मातृमृत्युदर देखाएको छ । देशभरमा प्रतिलाखमा १ सय ५१ महिलाको मृत्यु हुदा लुम्बिनीमा २ सय ७ जनाको मृत्यु हुने गरेको छ । यो अन्य प्रदेशको भन्दा धेरै हो । स्वास्थ्य निर्देशनालय लुम्बिनीका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा २ हजार ९ सय ७४ जना, २०७८÷०७९ मा १ हजार ६ सय ८२, २०७९÷०८० मा ८ सय ९३ र चालु आर्थिक वर्ष २०८०÷०८१ को काक्तिक मसान्तसम्म ४ सय १० जना घरमै प्रसुति भएका छन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सदीक्षा चापागाईले गर्भवतीमा जटिलता देखिए स्वास्थ्य सस्था गइहाल्ने, समयमै स्वास्थ्य सस्थामा गएर प्रसुति हुने, खानपान र आराममा ध्यान दिने हो भने मातृमृत्यु घटाउन सहज हुने उनले बताइन् । डा. चापागाइले स्वस्थ महिलाले पनि ३ वर्षमा एक पटक पाठेघर परिक्षण गराउदा पाठेघरको क्यान्सर लगायतबाट बच्न सकिने बताइन् ।

फेयर मेड र इन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा संचालित आधारभूत स्वास्थ्य परियोजनाका सहजकर्ता मन्जु घिमिरे र सन्ध्या कुसुम शर्माले मातृमृत्यु घटाउन स्थानीय तह र स्वास्थ्य सस्थाको सहकार्यमा काम गरीरहेको बताए । मातृमृत्यु घटाउन गर्भपतीलाई परिक्षण र प्रसुति हुन स्वास्थ्य सस्था लैजान चेतना प्रवाह गर्ने, शुन्य होम डेलीभरी कार्यक्रम संचालन गर्ने, प्रसुति कुरुवाघर बनाउने लगायतका काम गरेको उनीहरुले जनाए । यस्तै गर्भवती र सुत्केरीको सहजताका लागि स्वास्थ्य संस्थामा उपकरण सामाग्री दिएको, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्य सस्था व्यवस्थापन समितिलाई क्षमता विकासका कार्यक्रम संचालन भएको उनीहरुले बताए ।
संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले महिलामा हुने प्रजनन समस्या र मातृस्वास्थ्यका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न कार्यक्रम आयोजना गरेको बताइन् ।


लुम्बिनी रिभ्यू