काठमाडौ ,लुम्बिनी विकास कोषमा गरिएको विवादास्पद नियुक्ति तथा मुलुकमा बढ्दो तिब्बती चलखेल र दलाई लामासम्बन्धी गतिविधिको विरोधमा जेनजी युवाहरूले काठमाडौँमा खबरदारी प्रदर्शन गरेका छन् ।
विश्व शान्तिको मुहान तथा गौतम बुद्धको जन्मस्थल लुम्बिनीजस्तो संवेदनशील धार्मिक र कूटनीतिक महत्त्व बोकेको संस्थामा कानुनी मापदण्डविपरीत नियुक्ति गरिएको भन्दै युवाहरू सडकमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘विदेशी प्रभाव होइन, नेपालको राष्ट्रिय हित सर्वोपरि बनाउ’, ‘दलाई लामाका शङ्कास्पद प्रतिनिधिहरूको नेपाल प्रवेश निषेध गर’ तथा ‘एक चीन नीतिप्रति प्रतिबद्ध बन’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।खबरदारी कार्यक्रममा बोल्दै अभियानकी सफलता बोगटीले राज्यको संवेदनशील निकायमा गरिएको नियुक्तिप्रति कडा आपत्ति जनाउँदै सरकार आफ्नै नागरिकप्रति गैरजिम्मेवार बनेको आरोप लगाइन् ।
उनका अनुसार कोषको उक्त पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने स्पष्ट योग्यता तोकिएको छ । तर, छनोट प्रक्रियामै सहभागी नभएकी, नागरिकतासम्बन्धी विवादमा मुछिएकी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विचाराधीन रहेकै अवस्थामा कक्षा ५ मात्र पढेकी आनीलाई नियुक्ति गरिनु विधिको शासनको उपहास र गम्भीर त्रुटि भएको उनले बताइन् ।

सरकारको उक्त कदम बाह्य शक्तिको दबाब र प्रभावमा परेर चालिएको दाबी गर्दै बोगटीले भनिन्, “सरकारले नागरिकप्रति पूर्ण रूपमा गैरजिम्मेवार बन्दै विदेशीको प्रभावमा परेर यस्ता निर्णयहरू गरिरहेको छ । यसले भोलिका दिनमा देशमा गम्भीर भूराजनीतिक दबाब सिर्जना गर्छ र अन्ततः राष्ट्रलाई नै कमजोर बनाउँछ । सरकारले विदेशीको स्वार्थ र प्रभावभन्दा माथि उठेर आफ्नै नागरिक र देशको राष्ट्रिय हितका लागि काम गर्नुपर्छ।”
लुम्बिनी विकास कोषमा गरिएको विवादास्पद नियुक्ति तत्काल खारेज गरी योग्य, निष्कलङ्क र मापदण्ड पूरा गरेका नेपाली नागरिकलाई नियुक्त नगरे आगामी दिनमा थप सशक्त खबरदारीका कार्यक्रम अघि बढाउने चेतावनी समेत अभियानले दिएको छ ।

लुम्बिनी रिभ्यू