• Saturday 25th July 2026

गौतमबुद्ध विमानस्थल:कामदारलाई सुरक्षित राखेर धमाधम काम

गौतमबुद्ध विमानस्थल:कामदारलाई सुरक्षित राखेर धमाधम काम


  • लुम्बिनी रिभ्यू

भैरहवा। लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्पजस्तै भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम भने धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि यहाँ रहेका कामदारले काम निरन्तर जारी राखेका छन् । सरकारले केही दिनअघि मात्रै कामदारलाई भित्रै सुरक्षित राखेर ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।


कोरोना भाइरसका कारण सुरुमा चीनले सामग्री रोकेको थियो भने पछिल्लो समय रसुवागढी नाका बन्द भएपछि विमानस्थलका लागि आवश्यक सामान नेपाल भित्रिन पाएका छैनन् । चिनियाँ नयाँ वर्ष मनाउन आफ्नो देश फर्किएका २० जना प्राविधिक कामदार पनि चीनमै रोकिएका छन् । विमानस्थल निर्माण आयोजनाका अनुसार अहिले प्राविधिक र कामदार गरी २८ जनाको चिनियाँ टोली विमानस्थल निर्माणमा खटिएको छ । उनीहरू लकडाउनको बेला पनि दिनरात नभनी काम गरिरहेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार परियोजना क्याम्पभित्रै बस्ने मजदुरहरूले धमाधम काम गरिरहेका छन् । लकडाउनका कारण धेरै क्षेत्रको निर्माण कार्य ठप्पजस्तै भए पनि हाम्रो काम जारी छ, २८ जना चिनियाँ कामदारसहित ८० जना कामदारले विमानस्थल निर्माणको काम गरिरहेका छन्, अधिकारीले भन्नुभयो ।विमानस्थल निर्माणका लागि लकडाउनअघि सम्म दैनिक दुई सय कामदार खटिएका थिए । अहिले भने क्याम्पभित्र रहेकाले मात्र कामलाई निरन्तरता दिएका हुन् । विमानस्थलको पुरानो धावन मार्गमा लाइट जडान, टर्मिनल भवनको फिनिसिङ, सेन्ट्रल एसी जडान, टायल लगाउने र तारबारको काम चलिरहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको काम अझै १० प्रतिशत बाँकी रहेको बताउनुभयो । जसमा ६ प्रतिशत उपकरण जडानको काम र ४ प्रतिशत भौतिक पूर्वाधारका अन्य काम बाँकी छन् ।
लकडाउनका बेला अन्य गतिविधिमा स्थानीय प्रशासनले कडाइ गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको काम सुरक्षित एवं सतर्कताका साथ अघि बढाउने भनेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउनका बेलामा पनि काम गर्न अनुमति दिएको हो ।
आयोजना प्रमुख अधिकारीले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ र प्रहरी प्रमुखसँग समन्वय गरेर काम गरिरहेको बताउनुभयो । उहाँले बाहिरबाट सामान ल्याउन गाह्रो भए पनि आइसकेका सामानहरूको जडान नरोकिएको बताउनुभयो ।
विभिन्न समयमा समस्या झेल्दै आएको गौतमबुद्ध विमानस्थल निर्माण आयोजनाको लागत पनि बढ्दै गएको छ । समय लम्बिँदा लागत स्वतः बढ्ने अधिकारीले बताउनुभयो । विमानस्थल निर्माणको कुल लागत छ अर्ब ८२ करोड रुपियाँ छ । यो रकम जग्गा अधिग्रहणबाहेकको हो ।
यसमा एसियाली विकास बैङ्कको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ । आयोजनाअन्तर्गत १० मेगावाट सौर्य ऊर्जा निकाल्न करिब एक अर्ब लागत लाग्ने अनुमान छ । विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेगावाट विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ । आयोजना प्रमुख अधिकारीका अनुसार एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । विमानस्थललाई प्रदूषणरहित विमानस्थलका रूपमा विकास गर्नेगरी मुलुकमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढेको अधिकारीले बताउनुभयो ।  (यो समाचार गोरखापत्र दैनिकका लागि लक्ष्मण पौडेलले लेखेका हुन ।)

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend