• Saturday 25th July 2026

कतै दूरशिक्षा, कतै अनलाइन कक्षा

कतै दूरशिक्षा, कतै अनलाइन कक्षा


  • लुम्बिनी रिभ्यू

टोपराज शर्मा

बुटवल । कोरोना भाइरस संक्रमणको डरले सरकारले गरेको लकडाउनका कारण यतिबेला देशभरीका विद्यालय, कलेज बन्द छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि कोरोना महामारीका कारण शुरु हुने अघिल्लो साँझ स्थगित भयो ।

कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण नेपालमा पनि लाखौं विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

कोरोना त्रासको विषम परिस्थितिमा पनि विद्यार्थीलाई लक्षित गरी कतिपय ठाउँमा नौला अभ्यास शुरु भएका छन् । पाल्पाको सामुदायिक रेडियो मदनपोखराले एसईईका परीक्षार्थीलाई लक्षित गरी दूर शिक्षा पाठशाला रेडियो कार्यक्रम शुरु गरेको छ ।

तानसेन नगरपालिकासँगको सहकार्यमा रेडियोले हरेक दिन बिहान सवा १० बजेदेखि दिउँसो ४ बजेसम्म रेडियोमार्फत एसईई परीक्षार्थी लक्षित दुर शिक्षा पाठशाला प्रसारण गरिएको स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले बताए ।

एसईई पाठशालामा अंग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन, नेपाली र कम्यूटर विषयको पठनपाठन गरिएको छ । हरेक विषयका कक्षा हरेक दिन ४५ मिनेट पढाइ हुन्छ । रेडियो कार्यक्रम सुन्दै गरेका विद्यार्थीले पढाएको नबुझेको खण्डमा र कुनै प्रश्न सोध्नुपरे तत्कालै सोध्न सक्छन् र उत्तर पाउँछन् । कतिपय गाह्रो प्रश्नको उत्तर अर्को दिनको कक्षामा शिक्षकले सुनाउँछन् ।

‘परीक्षा स्थगित भएपछि अन्योल र तनावमा रहेका विद्यार्थीलाई रेडियोबाट पठनपाठन गराउन शुरु गरेपछि विद्यार्थीहरु उत्साहित बनेका छन्’ अर्यालले भने–‘लकडाउन कहिलेसम्म लम्बिने हो, अन्योल नै भएकाले एसईईका परीक्षार्थीलाई लक्षित गरेर दूर शिक्षा पाठशाला शुरु गरेका हौं ।’

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले विद्यार्थीहरुको ध्यान पढाइ वाहेक फाल्तु कुरामा नजाओस् र परीक्षाको तयारीमा केन्द्रित हुन सकुन् भनेर रेडियोबाट पढाउन थालिएको बताए ।

‘घरमा बन्दाबन्दी भएका बालबालिकाले रेडियोमार्फत् पढ्न, नयाँ कुरा सिक्न र आफूले नबुझेका कुरा शिक्षकसँग सोध्न पाउने भएकाले पाठशाला प्रभावकारी भएको छ ।’

दूर शिक्षा पाठशाला रेडियो कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक होत्रीराज ढुंगानाले अंग्रेजी, जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद ढकालले अनिवार्य गणित, देववाणी साधारण तथा संस्कृत माध्यमिक विद्यालयका रामजीवन ज्ञवालीले विज्ञान, दमकडाका जीवन आचार्यले कम्यूटर, दमकडाकै एकराज ज्ञवालीले सामाजिक अध्ययन र माउन्ट भ्याली बोर्डिङ स्कुलका प्रेमराज खरालले नेपाली बिषय पढाउने गरेका छन् ।

‘पन्ध्र दिनपछि परीक्षा हुन्छ भनेको पनि भएन, जताततै कोरोनाको चर्चाले पढ्न पनि मन लागेको थिएन’– जनता माविकी ऋतिका तिमिल्सिनाले भनिन्–‘अहिले रेडियो सुनेरै परीक्षाको तयारी गरेकी छु ।’ अधिकांश विद्यार्थीहरुमा पढेका कुरा बिर्सिन्छ कि भन्ने तनाव हुने भएकाले रेडियो कार्यक्रमले पुनर्ताजगी गराएको अंग्रेजी शिक्षक होत्रीराज ढुंगानाले बताए ।

गणित शिक्षक रामप्रसाद ढकालले विद्यार्थीले घरमै बसेर सिक्न पाउने र रेडियो कार्यक्रम रेकर्ड गरेर दोहोर्‍याई तेहेर्‍याई सुन्न पाउने भएकाले दूर शिक्षा रेडियो कार्यक्रम प्रभावकारी बनेको बताए ।

रेडियोको यो कार्यक्रमलाई राम्रो मानेर पालपाकै रामपुर र मुक्तिनाथ, गुल्मीको गुल्मी, रुरु र श्रृंगेश्वर, बाग्लुङको रेडियो सारथीले पनि प्रत्यक्ष प्रसारण गरेका स्टेशन प्रबन्धक अर्यालले बताए ।

तिलोत्तमामा अनलाइन कक्षा

यता रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि एसइईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी शुक्रबारबाट अनलाइन कक्षा सुरु गरेको छ । विषयविज्ञ शिक्षकहरुले हरेक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन कक्षामार्फत् विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

शान्ति नमूना माविबाट शिक्षकहरुले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत् पढाउन शुरु गरेको आचार्यले बताए ।

‘विद्यार्थीले आ—आफ्नो घरबाटै मोबाइल एप जुम, तिलोत्तमा नगरपालिकाको फेसबुक पेज वा युट्युवबाट शिक्षकले पढाएको विषयबस्तुको बारेमा ज्ञान लिन सक्ने छन्’ आचार्यले भने, ‘अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तर समेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।’ तिलोत्तमाका ५१ वटा सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै २७ सय विद्यार्थी एसइईको तयारीमा छन् ।

  1. अनलाइन कक्षाको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको समयमा सूचनाप्रविधिको माध्यमबाट विद्यार्थीले घरमैं बसेर पाठ्यवस्तु अध्ययनमा सघाउ पुर्‍याउन अनलाइन कक्षा सञ्चालन गरिएको बताए ।

विद्यालय शिक्षा सुधारका लागि स्थानीय तहबाट भएको यो काम रचनात्मक र अन्य स्थानीय तहका लागि पनि अनुशरणयोग्य हुन सक्ने नगर प्रमुख घिमिरेले बताए ।

(शर्माले लेखेको यो सामग्रि अनलाईनखबरमा प्रकाशित छ ।)

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend