बुटवल । बालिकाहरुले घरभित्रै र आफन्तबाटै आफूहरु असुरक्षीत भएको गुनासो गरेका छन् । आफ्ना अभिभावक, घरपरिवारका सदस्य, आफन्त, इष्टमीत्र र साथीबाटै विश्वाशघात हुने र हिंसा गर्ने गरेको उनीहरुले बताए ।
अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा बालिकाहरुले घरपरिवार र आफन्तबाट हिंसा हुदा सुनिदिने र पत्ताइदिने पनि कोही नहुने बताए । यस्तोमा मानसिक तनाब बढ्ने र विछिप्त हुने उनीहरु जनाए ।
किशोरी अधिकार मन्चकी अध्यक्ष सुनिता हरिजनले छोरीहरु बोल्नुहुन्न भन्ने चलन अझैपनि कायम रहदा आफ्ना समस्या घरपरिवार , विद्यालय र समुदायमा राख्न नसकेको बताइन् । हिंसा विरुद्ध बोल्न नसक्दा अपराधीको मनोवल बढ्दै जाने र हिंसा बढ्दै जाने गरेको उनले बताइन् । सम्मानजनक र सुरक्षित जिवन यापन गर्न पाउनु प्रत्येक बालिकाको मानवअधिकार भएकाले त्यसको संरक्षण गरिदिन उनले आग्रह गरिन् ।
किशोरी तथा युवा संजाल लुम्बिनी प्रदेशकी कोषाध्यक्ष गुन्जा थारुले असमान व्यवहार र शिक्षा, बालविवाह लगायतले तराइका छोरीहरु धेरै समस्यामा रहेको बताइन् । ‘अझैपनि हामीहरु घरबाहिर गएर पढ्न, खेलकुदमा भाग लिन र उमेर पुगेर पढ्न पाएका छैनौं,’ उनले भनिन्, ‘यसले हामीका घरपरिवारप्रति वितृष्णा आउछ ।’

लैंगिक असमानता, हिंसा र पारिवारिक किंचलोले किशोर उमेरका बालिकाहरु हिंसामा पर्ने र मानसिक तनाब बढ्दै गएको अध्ययनहरुले देखाएको छ । तनाबले किशोरीहरु विछिप्त हुदै जाने, कुलतमा लाग्ने र आत्महत्यासम्मको प्रयास गर्ने गरेको प्रहरीको समेत तथ्यांक छ । लुम्बिनी प्रदेश प्रहरीको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा गतवर्ष ५ सय १४ ले आत्महत्या गरेका थिए । त्यसमध्ये १ सय १९ जना बालिका थिए ।
सरोकारवालाहरुले भने बालिकामा हिंसा हुन नदिन र उनीहरुमा आउने मानसिक तनाब रोक्न घरपरिवार नै लाग्नुपर्ने बताए । मनमा कुरा नलुकाउन, आफ्ना कुरा खुलस्त राख्न र हिंसा विरुद्ध बोल्न उनीहरुले सुझाब दिएका छन् । लुम्बिनी प्रदेशको आन्तरीक मामिला कानुन तथा संचार मन्त्रालयका सचिव तथा सामाजिक मनोविमर्शकर्ता कोमलप्रसाद धमलाले आफ्ना सबै इच्छा र चाहना बालबालिकामाथि थोपर्ने र उसबाट पूरा गर्नुपर्छ भन्ने सोच अभिभावकले छोड्नुपर्ने बताए । पितृसत्तात्मक समाज र संरचनाका कारण बालिकालाई हरेक मोडमा समस्या पर्ने बताउदै उनले आफ्ना समस्या खुलस्त आफ्ना अभिभावकलाई भन्न सुझाब दिए । ‘मनमा पीर नबोकौं । आफ्ना समस्या अभिभावकलाई भनौं । साथीलाई भनौं, शिक्षकलाई भनौं नत्र नजिकको प्रहरीलाई भनौ,’ उनले भने, ‘यसले समस्या समाधान हुन्छ । मनमा पीर हुदैन । थप संकट पर्दैन ।’ हिंसाबाट बच्न बालिकाहरुलाई आत्म सुरक्षाका विधि र सेल्फ डिफेन्सबारे पनि सिकाउन आवश्यक रहेको उनले बताए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दीपकराज नेपालले हिंसा विरुद्ध बोल्ने बानीको विकास गर्न आग्रह गरे । ‘शारीरिक हिंसा होस् या मानसिक हिंसा लुकाएर नराखौं । हामी बोलिएन भने अपराधिको आत्मबल बढ्छ,’ उनले भने, ‘यसैले सुरुमै प्रतिकार गरौं ।’

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम खत्रीले सामाजिक संजालले पनि बालबालिकालाई असामाजिक बनाएको र मानसिक समस्या बढाएको बताए । ‘किशोरी उमेरमा बालिका विपरित लिंगीप्रति आकर्षित हुने, केटा साथी बनाउने, मन मिल्दा पासपोर्ट सेयर गर्ने र मन नमिल्दा केटासाथीले त्यसबाटै हिंसा गर्ने गरेका घटना धेरै छन्,’ उनले भने, ‘त्यसैले अनावश्यक काममा सामाजिक संजाल नचलाऔं र चलाउदा आफ्नो गोपनियता राखौं ।’
अभिभावक संघ रुपन्देहीका उपाध्यक्ष नित्यानन्द ज्ञवालीले अभिभावक पहिलो साथी भएकाले बालिकाले डर त्रास नमानी आफ्ना समस्या राख्नुपर्ने बताए । ‘आफ्ना छोराछोरी असल र अनुशाशित हुन् भनेर अभिभावकले गर्ने रेखदेख र कडाइलाई अन्यथा लिनुहुदैन । समस्या परे भन्नुपर्छ,’ उनले भने ।
युएनएफपिए, भिएसओ, माहुरी होम, ओरेक नेपाल संचारिका समूह लुम्बिनी लगायतको समन्वयमा किशोरी अधिकार मन्च रुपन्देहीले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अधिकारकर्मी प्रेमचन्द जयसवालले बालिकाहरुका विद्यमान समस्या र लक्ष्मी श्रेष्ठले समाधानका उपायहरुबारे बताएका थिए । रुपन्देहीसहित कपिलवस्तु र नवलपरासीबाट भेला भएका किशोरीहरुले सरोकारवालाहरुसंग आफ्ना समस्या सुनाउदै समाधानकालागि आग्रह गरेका थिए ।


लुम्बिनी रिभ्यू