
विन्दु थापा
तिलोत्तमा , रुपन्देहीको तिलोत्तमा नगरपालिकाले फोहोर संकलन र व्यवस्थापन गरेर सहरबजार सफासुग्घर मात्र बनाएको छ । यत्तिमात्र होइन त्यही फोहोरबाट आम्दानी समेत गर्न थालेको छ । तिलोत्तमा नगरपालिकाले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र वास सहकारी संस्थाको त्रिपक्षिय समन्वयमा सरसफाइका काम गरेको हो । यसले स्थानीय खुसी छन् ।
सहकारीले ‘हरित पुनरुत्थान प्रवर्द्धन परियोजना’ अन्तरगत नगरपालिकाका ७ देखि १७ सम्मका ११ वडाको फोहोर संकलन, प्रशोधन तथा बिक्री गर्दै आएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि करहिया सामुदायिक वन क्षेत्रमा रहेको सुखौरा खोलाले उकास गरेको ६ बिघा जमिन छुट्याइदिएको छ । रकमका हिसाबले फोहोर संकलन व्यवस्थापन तथा प्रशोधनमा तिलोत्तमा नगरपालिकाको १ करोड ७१ लाख ४० हजार , युएनडीपीको १ करोड ६३ लाख ९७ हजार र सहकारीको ५७ लाख ५० हजार रुपैयाँ गरी करिब ५ करोड लगानी भएको छ । दैनिक ३ टन फोहोर संकलन हुन्छ । त्यसमध्येको ९० प्रतिशत फोहोर पुर्नउपयोग गर्न सकिने हुन्छ । जहा“ फोहोर बिक्रीबाट मात्रै मासिक करिब २ लाख रुपैया“ आम्दानी हुन्छ । संस्थाका अध्यक्ष गौतमका अनुसार फोहोर प्रशोधन केन्द्रमा ८ वटा बेलर मसिनले प्लाष्टिक जम्मा गरेर ६० देखि ८० किलोको बण्डल बनाउछन् । ती उद्योगहरुले लैजाने गरेका छन् । प्रशोधन गरिएको फोहोर उपयोग हेरेर ६ देखि ८० रुपैया“ प्रतिकिलोमा बिक्री हुने गरेको छ । फोहोर प्रशोधनबाटै वार्षिक एक करोड आम्दानी गर्ने लक्ष्य रहेको उनले जनाए । ‘रिसाइकल गर्न मिल्ने मात्र होइन रिसाइकल गर्न नमिल्ने बिस्कुट, गुट्खा, चाउचाउ लगायतका प्लास्टिक समेत डल्लो बनाएर कोइलाका रुपमा प्रयोग गर्न सिमेन्ट र इ“टा उद्योगहरुलाई बेचेका छौं । जुन प्रतिकिलो ६ रुपैया“मा बिक्री हुने गरेको छ,’ अध्यक्ष गौतमले भने ।
कुहिने फोहोर घरमै व्यवस्थापन गरी प्रांगारिक र गड्यौला मल बनाउन सिकाएको सहकारीले नकुहिने फोहोरमात्रै संकलन गर्छ । घरघरमा कुहिने फोहोर व्यवस्थापन र नकुहिनेको संकलन हुन थालेपछि नगर सरसफाइयुक्त बनेको छ । स्थानीय खुसी छन् । मणीग्रामकी सीता थापाले घरघरै आएर फोहोर लैजान थालेपछि टोलवस्ती सघासुग्घर बनेको बताइन् । ‘नकुहिने फोहोर नगरपालिकाले लैजान्छ । कुहिने फोहोर बारीमा गाडेर मल बनाउन सिकाएको छ,’ उनले भनिन्, ‘फोहोरले दुर्गन्धित बनाउन पाएको छैन ।’
सहकारीले नगरपालिका र युएनडिपीको सहकार्यमा स्वास्थ्य र सरसफाइबारे स्थानीयलाई सचेतनामूलक कार्यक्रम समेत चलाएको छ । फोहोर संकलनबापत एक घरले मासिक ३ सय रुपैया“ दिनुपर्छ । ४ नम्बरका ओमप्रसाद भण्डारीले सहकारीले घरमात्र होइन सार्वजनिक स्थलसमेतको सामुहिक सरसफाइ गर्न सिकाएको बताए । ‘सिंचाइका नहर, कुलो, खोला, पार्क, सार्वजनिक स्थानसमेत सरसफाइयुक्त बनाउन काम भइरहेको छ,’ उनले भने, ‘यसले नगर चिटिक्क बनाउन सघाएको छ ।’
तिलोत्तमा नगरपालिकामा २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगर सरसफाइमा सघाउने गरी ‘वास स्वास्थ्य सहकारी संस्था’ सुरु भएको हो । घरदैलोको फोहोरस“गै यसले २०७६ सालमा नगरपालिकालाई खुला प्लास्टिक मुक्त गर्ने अभियान चलाएको थियो । सहकारीले स्वास्थ्य, सरसफाइ र खानेपानीलाई आफ्नो कार्यक्षेत्र तोकको छ तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने हरेक व्यक्ति सहकारीको सदस्य बन्न पाउँछ। सदस्यता शुल्क गच्छेअनुसार ५ हजारदेखि १ लाख रुपैयाँसम्म तोकिएको संस्थाका सुपरभाइजर चन्द्रबहादुर गुरुङले बताए।

प्रशोधन स्थलमा फोहोर छुट्याउन क्रसर र कन्भेल्ट मसिन जडान भएका छन् । तर, विद्युत भोल्टेज नपुग्दा तिनको भने उपयोग हुन सकेको छैन । नगरपालिका प्रमुख रामकृष्ण खाडले हाइ भोल्टेजसहितको विद्युत पुर्याउन विद्युत कार्यालयसंग समन्वय भइरहेको बताए । मसिनबाट फोहोर छुट्याउदा छिटोछरितो हुनेछ । ‘अहिले नगरको एकदेखि ६ सम्मको फोहोर व्यवस्थापन मात्र गरिएको छ । ७ देखि १७ को जस्तै सबै फोहोर प्रशोधन गर्ने र मसिनबाटै प्रशोधनको काम गर्ने लक्ष्य छ,’ उनले भने ।
वास सहकारी संस्थाले हरेक घरमा २ वटा फोहोर फाल्ने डस्टविन दिएको छ । स्थानीयले कुहिने फोहोर यौटा डस्विनमा फाल्छन् भने नकुहिने अर्कोमा । कुहिने फोहोरबाट स्थानीयले आफै कम्पोष्ट मल बनाउने र गड्यौला मल बनाउने गर्छन् । त्यसका लागि तालिम दिइएको छ । नकुहिने फोहोर भने दैनिक चार वटा ट्र्याक्टरमार्फत् घर–घरबाट संकलन गर्छ । बोरा, प्लास्टिक, सिसा, फलाम, टिन जस्ता पुनः प्रशोधन गर्न मिल्ने फोहोर अलग–अलग गरी छुट्याएर त्यसको बिक्री गर्ने गरेको छ । फोहोर संकलन र प्रशोधनमा ४० जनाले रोजगारी पाएका छन् । वास स्वास्थ्य सहकारी संस्था लिमिटेड तिलोत्तमाका अध्यक्ष खेम प्रसाद गौतमले नगरको फोहोर व्यवस्थापन पनि हुने त्यसबाट सहकारीलाई आम्दानी पनि गर्ने उद्देश्यले काम गरीरहेको बताए ।

लुम्बिनी रिभ्यू