बुटवल । बुटवलमा मुलुककै आधुनिक एकीकृत कृषि उपज थोक बजार केन्द्र निर्माण हुने भएको छ । बुटवल १५ मा केन्द्र बनाइनेछ, प्रस्तावित जग्गामा स्थानीयले सहमति जनाइसकेका छन् ।
जग्गा प्राप्तिमा सर्वदलीय–सर्वपक्षीय र वन समितिको पनि सहमति जुटेसँगै सो आयोजनामा नेदरल्याण्डस्को दातृ निकायलाई लगानी गर्ने बाटो खुलेको छ ।
स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल उपमहानगरपालिका वडा नम्बर १५ क्षेत्रमा जग्गा पहिचानको काम टुङ्गिएको हो । यो मुलुककै सबैभन्दा ठूलो र आधुनिक केन्द्र हुनेछ । यसको लागत करिब २ अर्ब ३ करोड हुनेछ ।
केन्द्रमा कृषि उपज सङ्कलन, प्रशोधन, विक्री वितरण र भण्डारण हुनेछ । ‘यो आधुनिक कृषि उपज केन्द्र हो, यहाँ चिस्यान केन्द्रदेखि फोहोर प्रशोधन गर्दै कम्पोस्ट मल बनाउने पूर्वाधारसमेत बन्नेछन्’ कृषि मन्त्रालयका सचिव डा. गोविन्द्रप्रसाद शर्माले बताउनुभयो ।
दातृ निकाय र कृषि मन्त्रालयको दबावपछि बुटवल–१५ का वडाध्यक्ष शिव रानाले सर्वदलीय–सर्वपक्षीय भेलाबाट परियोजनालाई कर्साघाटको उत्तर–पूर्व तर्फको १८.७३ हेक्टर क्षेत्रफल रहेको जग्गा दिने सहमति जुटाएर वडाले निर्णयसहितको फाइल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयलाई बुझाएको बताउनुभयो ।
कृषि उपज केन्द्रमा छुट्टै क्वारेन्टाइनको व्यवस्था हुनेछ । जसले उत्पादित वस्तु विदेश पठाउन सिफारिस दिनेछ । केन्द्रभित्र विभिन्न ६ वटा गोदाम घर बन्नेछन् । एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम रहनेछ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहित गोदाम घर बन्नेछ ।
यसबाहेक खाद्य, तरकारी, फलफूल राख्न शीतभण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहोर प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने र पशुजन्य उत्पादन विक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बनाइनेछ ।
बुटवलको पुरानो बसपार्कमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र साँघुरो र बजारभित्र भएकाले बुटवल वडा नंं. १५ कर्साघाटमा सङ्घीय सरकारको कृषि मन्त्रालयले एकीकृत थोक कृषि बजार बनाउने प्रक्रिया अघि बढाएको हाे ।
बुटवल नगरप्रमुख पाण्डेयले गौरवको आयोजना निर्माण गरिने र यसलाई सफल बनाउँदा बुटवलको आर्थिक विकासमा कोशेढुङ्गा सावित हुने बताउनुहुन्छ ।
यसले लुम्बिनी प्रदेश मात्रै भएर गण्डकी लुम्बिनी बाग्मती कर्णाली प्रदेशका कृषक लाभान्वित हुने गाेरखापत्र अनलाइनले जनाएकाे छ ।

लुम्बिनी रिभ्यू