बुटवल, मेला महोत्सव किनमेल र अवलोकनका लागि मात्र होइन रमाइलोका लागि पनि हो । बुटवलको औद्योगिक व्यापार मेलामा पुग्ने जो कोहीलाई यही लाग्छ । शुक्रबार चर्चित गायक दिपक बज्रचार्यसहित उनको द रिदम ब्याण्डसँग दर्शक झुमेका छन् । नेपाली मौलिक बाजा र पप म्युजिकको फ्युजनसहित नेवारी धिमे बाजा र लाखे नाचसहित दर्शकलाई डेढ घण्टा लामो साँगेतिक प्रस्तुती दिएका उनले शुक्रबारको चिसो साझलाई तताएका थिए ।
आधा दर्जन गीतसँगै धिमे बाजा र लाखे नाचमा दर्शकको हुटिङ आउँदै गर्दा सुरक्षाकर्मीलाई समेत माहोल सम्हाल्न हम्मे हम्मे परेको थियो । शुक्रबार साँस्कृतिक कार्यक्रम अन्तरगत लोक तथा दोहोरी गायिका सर्मिला विसी, विन्दु परियार, रामेश्वर ढकाल लगायतका कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
त्यसैगरी शनिबार० लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती साँस्कृतिक उपसमितिका सहसंयोजक दिपक कार्कीले जानकारी दिए ।
यस्तै खुला लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता तथा भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता हुने सह संयोजक सुमन श्रेष्ठले बताए । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित यहि पुसको ३ देखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल रहेको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईंले जानकारी गराए ।

लुम्बिनी रिभ्यू