• Saturday 25th July 2026

लण्डनबाट हेर्दै बुटवलको पहिरो

लण्डनबाट हेर्दै बुटवलको पहिरो

बुटवल उपमहानगरपालिकाको अगुवाइमा लण्डन स्थित क्याम्बृज विश्वविद्यालयका प्रोफेसर सहितको विज्ञ टोलीले बुटवल उपमहानगरपालिका ३ मा पर्ने ज्योतिनगर र ४ को लक्ष्मीनगर क्षेत्रको पहिरोको जोखिमबारे अध्ययन सुरु गरेका हुन् । त्यसका लागि अहिले जोखिम क्यामरामा कैद गरेर लण्डनबाटै दैनिक अध्ययन गर्ने काम भइरहेको छ ।


  • लुम्बिनी रिभ्यू

अमृता अनमोल
बुटवल, चुरे खस्केर तल झरेको पहाड कसरी अड्याउने ? तालजाली लगाउने ? पर्खाल लगाएर अड्याउने ? तल खस्केको भाग नै काटेर फाल्ने ? वा नयाँ बिरुवा रोप्ने ? ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा चुरेबाट झरेको पहिरो रोक्न बुटवल उपमहानगरपालिकाले यी सबै उपाय अपनाएको छ । यत्तिले मात्रै समस्या समाधान नभएपछि अहिले लण्डनबाट पहिरोको चाल र गति अध्ययन गरी त्यसको दीर्घकालिन समाधानकालागि अध्ययन गरीरहेको छ ।
बुटवल उपमहानगरपालिकाको अगुवाइमा लण्डन स्थित क्याम्बृज विश्वविद्यालयका प्रोफेसर सहितको विज्ञ टोलीले बुटवल उपमहानगरपालिका ३ मा पर्ने ज्योतिनगर र ४ को लक्ष्मीनगर क्षेत्रको पहिरोको जोखिमबारे अध्ययन सुरु गरेका हुन् । त्यसका लागि अहिले जोखिम क्यामरामा कैद गरेर लण्डनबाटै दैनिक अध्ययन गर्ने काम भइरहेको छ । बुटवल उप महानगरपालिकाका वातावरण इन्जिनियर योगेश चापागाईंका अनुसार करिब २ महिना अगाडि अर्थात् २०८२ बैशाखमा क्याम्बृज विश्वविद्यालयका प्रोफेसर सहितको विज्ञ टोली बुटवल आएको थियो । उक्त टोलीले ज्योतिनगर र लक्ष्मीनगरको पहिरोमा एउटा ÷एउटा, ज्योतिनगर टोलमा २ ओटा र नगरपालिकामा एउटा गरि पाँच वोटा क्यामरा जडान गरेको छ ।


पहिरोग्रस्त क्षेत्रमा जडान गरिएको क्यामराले पहिरोको चाल, भुगर्वीय अवस्था र वर्तमान अवस्थामा जमिन कति सक्रिय छ भन्ने अवस्था खिचीरहेको छ । क्यामराको चिप्समा कैद भएका उक्त फोटोहरु अनलाइन मार्फत क्याम्बृज विश्व विद्यालयमा पठाइन्छ । विज्ञ टोलीले त्यही तस्बिरको आधारमा दिर्घकालिन रुपमा पहिरोको जोखिम अध्ययन गर्नेछन् । वातावरण इन्जिनियर योगेश चापागाई भन्नुहुन्छ, ‘यहाँको माटोको चाल कस्तो छ ? अवस्था कस्तो छ ? भूगर्विय अवस्था कस्तो छ भनेर पत्ता लगाउन यसको गरिएको हो । दीर्घकालीन रुपमा यहाँको बस्ती बस्न योग्य छ कि छैन भनेर अध्ययन अनुसन्धान गर्ने यसको प्रमुख उद्देश्य हो ।’
ज्योतिनगर क्षेत्रमा अहिलेसम्म २०५७ र २०७८ सालमा गरी २ पटक ठुलो पहिरो गैसकेको छ । धेरै जन धनको क्षेती समेत भैसकेको छ । बुटवल बजार बाट उत्तरपट्टी रहेको चुरे पहाडमा भुस्खलन् भइ आउने पहिरोले २०५५ सालमा ५७ घर पूर्णरुपले क्षतिग्रस्त भएको थियो भने एकजनाको ज्यान समेत गएको थियो । त्यसयता यो क्षेत्र मानवीय जोखिमका हिसाबले उच्च जोखिममा रहेको पहिरोको रुपमा परिचित छ ।

वर्षौसम्म स्थानीयले बिर्सिन खोजेको पहिरो २०७८ सालमा फेरि गयो । जसमा ११ घर क्षतिग्रस्त भएका थिए । कतिले बसाइँ सरेर गए भने कतिपय स्थानीयको घरमा क्षती भएकोले २,३ महिनाको लागि अन्यत्रै गए । उक्त पहिरोपछि यहाँका स्थानीयहरुमा मनसुन सुरु भएसँगै मनमा डर पस्न थाल्छ । आकाशमा कालो बादल मडारिएसंगै स्थानिय बासिन्दाको मन मडारिन थाल्छ । के गर्ने गर्ने उकुसमुकुुुस हुन्छ । उनीहरु रातिमा सुत्न सक्दैनन् भने दिनमा चैनले बस्न सक्दैनन् । तैनाथ अवस्थामा बस्छन् । ज्योतिनगरका कृष्ण बहादुर गुरुङले वर्षा लागेपछि पुरुषहरुले आलोपालो रातिमा ड्युटी गर्ने बताउनुभयो । ‘विपद आइहाले ठूलो क्षति नहोस् । तत्काल उद्धारका काम गर्न पाइयोस् भनेर यसो गरेका हौं ।’ उहाँले भन्नुभयो ।
ज्योतिनगर पहिरो क्षेत्रकी स्थानीय उजेली शर्मा वर्षा सुरु भएपछि मनमा डर पैदा हुने बताउनुभयो । ‘पानी पर्न थालेपछि फेरि पनि बगाउने हो कि भनेर त्रास जन्मन्छ । हामी सुत्न सक्दैनौं । पानी आएपछि जाग्राम बस्छौं ।’ उजेलीले सुनाउनुभयो ।
बर्सेनि सानो–ठूलो पहिरो गइरहने यो चुरे क्षेत्रलाई नियन्त्रणमा ल्याउन स्थानीय तहले निरन्तर प्रयास गर्दै आएको छ । २०७९ सालदेखि उपमहानगरपालिकाले चेक ड्याम, रिटेनिङ वाल, तारजाली जस्ता संरचनागत उपायहरु अपनाएको छ । साथै, पहिरोको बहाव सिधै बस्तीमा नपरोस् भनेर पानीलाई पाइपमार्फत सिद्धबाबा खोलातर्फ लैजाने विशेष नाली समेत निर्माण गरिएको छ । यो चुरेको पहिरो बाट ज्योतिनगर, मिलन टोल, बम्घाट, चेतना पासाङ टोल, गैरी गाउँ र लक्ष्मी पार्क क्षेत्र पहिरोको उच्च जोखिममा छन् । यिनै स्थानहरूलाई सुरक्षित बनाउने उद्देश्यले स्थानीय जनप्रतिनिधि, युवा क्लब, आमा समूह र वडा विपद् व्यवस्थापन समितिहरूको सक्रियतामा अल्पकालीन राहत तथा रोकथाम कार्यहरू निरन्तर भइरहेका छन्।


पानी परेपछि पहिरोको जानकारी वडा सदस्य अमृत खड्काले तत्काल नगरपालिकामा पु¥याउने गर्नुहुन्छ । त्यसपछि बुटवल उप महानगरपालिकाले तुरुन्त एक्साभेटर र टिप्पर घटना स्थलमा तैनाथ गर्छ । तत्काल पहिरो झरे स्थानीयलाई सुरक्षा दिन र प्रोत्साहन दिन काम गरीरहेको खड्काले बताउनुभयो । वडा सदस्य खड्काले प्रत्येक वर्ष मनसुनमा स्वयं जागराम बसेर स्थानीयलाई सुरक्षित भएको अनुभूति दिलाउने काम गर्दै आइरहेको उहाले बताउनुभयो ।
तिनाउ नदी वारि र पारि दुवैतर्पm चुरे पहाडबाट बस्तीतिर पहिरो खसेको छ । ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको छ । त्यसको ठ्याक्कै तल करिब २ हजार घरबस्ती छन् । यस्तै अवस्था रहे भीमकाय पहिरो तलको बुटवल शहरको भविष्य अन्धकार हुनेछ । यस्तो हुन नदिन राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिले २० लाख र बुटवल उपमहानगरले ३ करोड रूपैयाँ खर्चेर पहिरो रोकथामको प्रयास गरेका छन् । चुरे क्षेत्रका पानीका मूल र खहरे खोलालाई पल्लो डाँडातर्फ बगाउने र बीचबीचमा पर्खाल र तारजाली लगाइएको छ । बुटवल उप महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले अहिले तत्कालिन कामसँगै दिर्घकालिन रुपमा कसरी समाधान गर्न सकिन्छ भनेर अध्ययन भैरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले तत्कालिन रुपमा पहिरो रोक्ने काम भैरहेको छ । दीर्घकालिन रुपमा पहिरो रोकथाम गर्न अहिले क्याम्बृज विश्वविद्यालयका प्रोफेसर सहितको विज्ञ टोलीले अध्ययन गरीरहेको छ । अध्ययनका आधारमा काम अगाडि बढाइने छ । ’

 

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend