बुटवल, अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गरी पर्यटन प्रवद्धनमा टेवा पुर्याउन सरोकारवालाहरुले सुझाब दिएका छन् ।
सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुटवलमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनीहरुले जीवन्त सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, संस्कृति, रहनसहन, विभिन्न मान्यता भावी पुस्तासम्म पुर्याउनु पर्ने बताए । अभौतिक सम्पदा राज्यको सम्पत्ति भएको बताउदै यसको महत्त्वलाई बुझेर संरक्षणमा लाग्न आवश्यक रहेको उनीहरुले जनाए ।
मन्त्रालयका सहसचिव सुरेश सरस श्रेष्ठले अभौतिक साँस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । उनले संस्कार, संस्कृति, मान्यता, भाषा, धर्म, आस्था, विभिन्न जातजातिको रीतिरिवाज आदिको खोजी तथा संरक्षण र विकास गर्न आवश्यक कानुन निर्माणका लागि प्रदेश स्तरमा कार्यक्रम गरिएको बताए।

कतिपय जाति तथा समुदायगत मान्यता आस्था, विश्वास, भाषा आदि लोप हुँदै गएको अवस्थामा ती कुरालाई कसरी संरक्षण गर्न भन्नेबारे समेत योजना बनाउनुपर्ने बताए ।
निर्देशक सुभद्रा भट्टराई घिमिरेले अभौतिक साँस्कृतिक सम्पदाको सँरक्षण र व्यवस्थापनको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गरिन् । उनले पछिल्लो समयमा अभौतिक सांस्कृतिक सम्पदा लोप हुने खतरा बढी रहेकाले यस विषयमा समुदाय स्तरमा चेतना फैलाउन आवश्यक रहेको बताइन् । उनले भनिन, ‘हाम्रो देशमा धेरै अभौतिक सम्पदा छन् । कतिपय त्यस्ता सम्पदा हराउने अवस्थामा पनि पुगेका छन् । यसको विकास गरेर नयाँ पुस्तासम्म पुर्याउनुपर्ने दायित्व हामीसँग छ । कतिपय भाषा, आस्था रीतिरिवाज तथा मिथक हराएको अवस्था पनि छ । यस्ता कुराको संरक्षण गर्दै पर्यटनसँग जोडेर यहाँका स्थानीय तहले धेरै राम्रो आर्थिक उपार्जन गर्न सक्छन् ।’
कार्यक्रममा वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका अधिकृत गणेश घिमिरेले प्रदेशले अभौतिक सांस्कृतिक सम्पदा प्रवद्धनका लागि बनाएका योजनाबारे बताए । विभिन्न सरोकारवालाहरुले अभौतिक सम्पदाको सँरक्षण, व्यवस्थापन र सूचीकरणको लागि गर्नुपर्ने पहलबारे सुझाब राखेका थिए ।

लुम्बिनी रिभ्यू