• Saturday 25th July 2026

दुई दिन बिदाले हलमा दर्शक बढ्ने विश्वास

दुई दिन बिदाले हलमा दर्शक बढ्ने विश्वास


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले चलचित्र क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीले धरापमा परेको चलचित्र क्षेत्र दुई दिन बिदा दिने निर्णयले चलचित्रकर्मी खुसी भएका छन् ।

निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखिको आफूहरूको माग पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । “चलचित्र हेर्ने समय भनेको बिदाको दिनमा हो ।

हप्तामा एक दिन बिदामा मानिसले के मात्र गरोस् तर दुई दिन बिदा भएपछि एक दिन त मनोरञ्जनलाई छुट्याउँछ । चलचित्र हेर्न समय प्राप्त होस् भनेर चलचित्र प्रदर्शनी कुनै बिदा वा पर्वलाई लक्षित गर्ने गर्छौं । निर्णय स्वागतयोग्य छ,” अधिकारी थप्नुभयो, “पटक–पटक सरकारलाई दबाब दिएका थियौँ ।”

“छुट्टी नहुँदा दर्शकले मनपर्ने चलचित्र हेर्न पाएका थिएनन् । शनिबार सबैले चलचित्र हेर्ने मौका प्राप्त हुन्छ भन्ने हँुदैन, बिदाको दिन चाप बढी हुने हुनाले टिकट प्राप्त गर्न कठिन हुन्छ,” उहाँले भन्नुभयो, “एक दिन फुर्सद हुन्छ, कता चलचित्र हेर्न जाने भन्ने धारण हुन्छ तर दुई दिन बिदाले एक दिन घरको काम र अर्को दिन मनोरञ्नलाई दिन सकिन्छ ।” शनिबार व्यक्तिगत कार्य सम्पन्न हुँदा आइतबार मनोरञ्जनलाई समय दिन सकिने उहाँले बताउनुभयो ।

सिनेमा हलहरूको छाता संस्था चलचित्र सङ्घका महासचिव अशोक शर्मा पनि सरकारी निर्णय स्वागतयोग्य भएको बताउनुभयो । “शनिबारकै बराबर व्यापार हुन्छ, किनभने चलचित्र क्षेत्रमा बिदाको दिनको महत्त्व हुन्छ,” उहाँले भन्नुभयो, “यसअघि हामीले पर्यटन मन्त्रालयमा पनि यसबारे दबाब दिएका थियौँ । अहिले आएर यो निर्णय भयो खुसी लागेको छ ।” सुरुमै आइतबार बिदाको बानी नपर्ने भए पनि क्रमशः बिदाको बानी बस्दै जाँदा हलमा दर्शक आउन सक्ने शर्माको भनाइ छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बिदामा चलचित्र हेर्न आउने बताउँदै यसको उपयोग गर्न चलचित्रकर्मीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली सिनेमा बचाउने हो भने मौलिक कथावस्तुलाई जोड दिनुपर्छ । अहिलेको जस्तो चलचित्र निर्माणले नेपाली चलचित्रको विकास र  विस्तार हुँदैन ।”

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend