बुटवल । पूर्व्अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी उत्पादन बढाउने, व्यापार घाटा घटाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । परनिर्भर अर्थतन्त्रले मुलुक धरापमा परेको बताउँदै उनले अब आफ्नो समय ठूला परियोजनाहरु समयमा सकेर उद्योग, व्यापार र रोजगारीका सम्भावनाको ढोका खोल्नेमा केन्द्रित गर्ने बताए ।

बुटवलमा बुधबार आयोजित चुनावी प्रचार कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले देशकै मध्यभाग र सीमा नजिकको जिल्ला रुपन्देहीलाई मुलुककै प्रमुख आर्थिक केन्द्रका रुपमा विकास गर्ने बताए् । उनले जिल्लामा देशकै ठूला र नमुना पूर्वाधार विकासका आयोजना सुरु भएको बताउँदै तिनलाई पूरा गरेर आर्थिक अवस्था उकास्ने र नागरिकलाई फाइदा दिलाउने दाबी गरे । ‘बुटवल पहिल्यैदेखिको पश्चिम नेपालको आर्थिक केन्द्र हो । सुरु भएका विकास योजना सकेर जिल्लालाई नै मुलुकको आर्थिक केन्द्र बनाइने छ,’उनले भने, ‘विकासले रुपन्देहीको रुप फेरिएको छ । अब जीवनस्तर फेर्नुछ ।’
बौद्धमुलुकबाट सिधै बुद्धजन्मस्थलमा पर्यटक ल्याउने लक्ष्यका साथ भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बौद्ध मुलुकले उडान स्वीकृति नलिएकोप्रति उनले चिन्ता व्यक्त गरे । विमानस्थल निर्माणपछि वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको स्मरण गर्दै उनले चुनाव जितेपछि बुद्ध मुलुकमा उडान स्वीकृति लिने र बुद्धजन्मस्थलमा पर्यटक ल्याउने अभियानमा लाग्ने प्रतिबद्धता जनाए ।

लुम्बिनी रिभ्यू