
रीता ज्ञवाली
बुटवल — परम्परागत पेसामा पुर्खाको लगानी हुन्छ । नया पुस्ताको पनि केही न केही सीप लुकेको हुन्छ । यस्तो पेसा अपनाउदा सफल हुन र त्यसबाट मुनाफा कमाउन पनि सकिन्छ । यही उद्धेश्यलाई आत्मसाथ गर्दै बुटवल उपमहानगरपालिकाले परम्परागत पेसा संरक्षण अभियान थालेको छ ।
अभियान अन्तरगत परम्परागत पेसा संरक्षण गरी सहज रुपमा आम्दानी लिनसक्ने बनाउन भन्दै बुटवलका आरन व्यवसायीहरूलाई आधुनिक आरन मेसिन र उपकरण प्रदान गरिएको छ । बुटवलमा आरन चलाएर धातुका भाँडाकुडा कृषि तथा घरयासी उपकरणका औजार बनाउने ११ जनाले आधुनिक आरन पाएका हुन् । जसमा विद्युतीय पंखा, ग्रिन्डर मेसिन, कैंची, रेती, घन लगायत छ । यसअघि परम्परागत सीपलाई आधुनिक रुपामा ढाल्न नसक्दा आरन पेसा र व्यवसाय संकटमा परेको गुनासो उठ्ने गरेको थियो । यस्तो गुनासो मेटाउन र पेसा जोगाउन आधुनिक आरन उपकरण प्रदान गरिएको नगरप्रमुख खेलराज पाण्डेयले बताए ।यसले सीपमार्फत् स्वरोजगार बन्नका लागि सहयोग पुग्ने उनले बताए ।
परम्परागत उपकरण र हातको माध्ययमबाट काम गर्दा एकातिर धेरै समय लाग्छ भने अर्कोतिर धेरै मेहनत लाग्छ । यसो हुदा आरन व्यवसायबाट सोचेजति मुनाफा कमाउन पनि सकिदैन । यसले गर्दा व्यवसायीहरु पेसाबाट पलायन हुन लागेका छन् भने युवा पुस्ताले परम्परागत पेसा अपनाउनै छोडेका छन् । युवाहरुलाई पलायन हुनबाट रोकी परम्परागत पेसालाई आधुनिकीकरण गरी रोजगारी बढाउन आरन व्यवसायीलाई आधुनिक उपकरण प्रदान गरिएको नगरप्रमुख पाण्डेयले बताए ।
आधुनिक उपकरण पाएका आरन व्यवसायी वीरबहादुर विकले आधुनिक यन्त्रले काममा सहज हुने बताए । उनका अनुसार परम्परागत उपकरणको साटो आधुनिक उपकरणले समय बचत भएको छ । आरन चलाउन तथा उपकरण बनाउन लाग्ने श्रम कम लाग्ने गरेको छ । यतिमात्रै होइन आधुनिक आरनबाट निर्माण हुने औजारको गुणस्तरमा पनि सुधार आएको छ ।
बुटवल उपमहानगरमा कति आरन व्यवसायी छन् ? यसको औपचारिक तथ्यांक छैन । यद्यपि नगरभित्र व्यवसायीक आरन चलाउने स्थायी वासिन्दा ११ जना छन् । आरन व्यवसायी जस्तै जुत्ता सिलाउने, लुगा सिलाउने, भाडा बनाउने, मूर्ति बनाउने लगायतका परम्परागत पेसालाई पनि आधुनिकीकरण गर्न सीप विकास र उपकरण दिने काममा लगानी गर्ने बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रिदेवी अर्यालले बताइन् । उनले युवाहरुलाई स्वरोजगार बन्न र विदेश पलायन हुनबाट रोक्न पेशालाई आधुनिकीकरण अभियान थालेको बताइन् ।

लुम्बिनी रिभ्यू