• Saturday 25th July 2026

तिलोत्तमामा नगर प्रमुख किसान कार्यक्रम

तिलोत्तमामा नगर प्रमुख किसान कार्यक्रम

आधुनिक कृषिद्धारा युवालाई व्यवसायिक कृषिमा लगाउने, कृषि उपजको उत्पादन बढाउने र मेहनत एवं लागत घटाउने उपाय


  • लुम्बिनी रिभ्यू

संगीता पाण्डे
भैरहवा, कृषि उपजको उत्पादन वृद्धि गर्न के गर्नुपर्ला ? कृषि उत्पादनमा लाग्ने किसानको मेहनत र लागत घटाउन के गर्नुपर्ला ? व्यवसायिक कृषि पेशामा युवाहरुलाई लगाउन के गर्नुपर्ला ? कृषिसम्बन्धी हरेक कार्यक्रममा उठ्ने यी प्रश्नको समाधान गर्ने अनेक उपाय होलान् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भने किसानलाई प्रोत्साहन कार्यक्रम थालेको छ ।
तिलोत्तमाले नगर प्रमुख किसान कार्यक्रम संचालन गरी त्यसअन्तरत किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेको हो । नगर प्रमुख रामकृष्ण खाडले युवा किसानलाई कृषि पेशामा आकर्षित गर्न, लागत घटाउन र उत्पादन बढाउन नगर प्रमुख किसान कार्यक्रम संचालन गरेको बताए । यसबाट युवाहरु व्यवसायिक कृषिमा लाग्न प्रोत्साहित भएको उनले जनाए ।
तिलोत्तमा नगरपालिका १४ को दुर्गानगरमा नगर प्रमुख किसान कार्यक्रम संचालन भएको छ । जसमा किसानलाई तरकारीको बिउ, विषादी , विषादी छर्ने स्प्रेयर, धान काट्ने मेसिन, हाते ट्याक्टर, बजारमा जोख्न सजिलो हुने गरी जोख्ने औजार दिइएको छ । सिंचाईको सुविधाका लागि बोरिङ्ग, पानी तान्ने मटर, डेलिभरी पाईप वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए । कृषिको आधुनिकीकरणका लागि प्रविधिमा सहयोग गर्दा उत्पादनमा वृद्धि हुन सक्ने उनको भनाइ छ ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा साना किसानलाई औजारसमेत उपलब्ध गराएको छ । जसमा जोत्न सहजताका लागि ८ वटा मिनी टेलर दिएको छ । बाली काट्न मिल्ने साथै झाडी फांड्नका लागि ५ वटा ब्रस कटर दिएको छ । विषादी छर्न तथा मल घोलेर हाल्न प्रयोग गरिने औजार १६ वटा दिएको छ । यस्तै, महमदानी ७ थान, मैन बक्स १ थान औजार उपलब्ध गराएको छ । नगरले ३७ औजार वितरण गरेपनि यसबाट झण्डै ३ सय किसान लाभान्वित भएको नगरपालिकाको भनाइ छ ।
कृषकलाई अनुदानमा कृषि औजार वितरण गर्दा नगरपालिकाले ९ लाख ६६ हजार रुपैया लगानी गरेको छ । त्यति नै रकम किसानको लागेको छ ।
आधुनिक कृषि औजार पाउदा किसानहरु दंग छन् । उनीहरुलाई काममा सहज भएको छ । मोहमदानी र स्पेयर तिलोत्तमा १२ का शिव पुजन चौधरीले उपकरणले काममा सहज भएको बताए । उनले काममा कम मेहनत लाग्दा मुनाफा समेत बढेको बताए । चौधरीलाई नगरपालिकाले गएको वर्ष ४ वटा आधुनिक मौरी घार दिएको थियो । उनले यसवर्ष मौरीघारलाई बढाएर १६ घार बनाएका छन् । चौधरीले तरकारी खेती समेत गरेका छन् । यसबाट जिविकोपार्जन सहज भएको र आम्दानी बढेको चौधरीले बताए ।

तिलोत्तमा ८ की सीता पाण्डेले पनि ५० प्रतिशत अनुदानमा यसवर्ष नगरपालिकाले दिएको हाते ट्याक्टर र स्प्रेयर पाएकी छन् । मिलन खाद्यन्न उत्पादन कृषक समुहका सदस्य सीताले आफूले पाएका सामाग्री समूहका सबैले उपयोग गरेको बताइन् । उक्त समूहमा ४२ जना सदस्य रहेका छन् । उक्त समुहले हाल २० विगाहा भन्दा वढि क्षेत्रफलमा धान,गहुं मकै साथै तरकारी उत्पादन गर्दै आएको छ । ‘कृषकहरुको मनोवल बढाउने उद्धेश्यले नगरपालिकाले विभिन्न औजारहरु वितरण गरेको छ । सारै सजिलो भएको छ,’ उनले भनिन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend