• Saturday 25th July 2026

राजस्व असुली र बाँडफाँडमा सुधार गर्न लुम्बिनी सरकारलाई सुझाव

राजस्व असुली र बाँडफाँडमा सुधार गर्न लुम्बिनी सरकारलाई सुझाव

वित्तिय न्युनतालाई कम गर्न राजश्व असुली मात्र होइन राजश्वका क्षेत्र विस्तार र बाडफाडमा पनि ध्यान दिनुपर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको ठहर


  • लुम्बिनी रिभ्यू

बुटवल — राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारले उठाएको राजस्व मासिकरुपमा बाँडफाँड गर्न लुम्बिनी प्रदेश सरकारलाई सुझाव दिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई वार्षिक प्रतिवेदन बुझाउँदै राजस्व असुली र बाँडफाँडमा सुधार ल्याउन सुझाव दिएको हो । वित्तीय न्यूनतालाई कम गर्न राजस्व असुलीमात्र नभईन राजस्वका क्षेत्र विस्तार र बाँडफाँडमा पनि ध्यान दिनुपर्ने आयोगको ठहर छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार मासिकरुपमा राजस्व बाँडफाँड गर्नुपर्ने भए पनि चौमासिक र आर्थिक वर्षपछि मात्रै बाँडफाँड गर्दा आम्दानी र खर्चको अनुपात नमिलेको भन्दै सुधार्न निर्देशन दिएको छ । आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रदेशको कामबाट स्थानीय तह र संघ पनि प्रभावित हुने बताउँदै नियमानुसार राजस्व असुली र बाँडफाँडमा सुधार ल्याउन निर्देशन दिए । उनले प्रदेशमा धेरै उठ्ने सवारी साधन कर मासिकरुपमा बाँडफाँड नगरेको, अघिल्लो आर्थिक वर्षमा उठेको राजस्व पनि अर्को आर्थिक वर्षका लागि राखिएको भन्दै त्यसलाई सुधार्न आग्रह गरे ।

आयोगका सदस्य गुरुङले अन्तरसरकारी वित्तीय हस्तान्तरण माथिको अधिक निर्भरताले प्रदेश र स्थानीय तहको स्वायक्ततालाई संकुचन गर्न सक्ने भन्दै आन्तरिक राजस्वका क्षेत्रहरु पहिचान गर्न समेत आग्रह गरे । संघले राजस्वको लक्ष्य हेरफेर गर्दा प्रदेशले पनि गर्नु उनले आग्रह गरे ।

वित्त आयोगको प्रतिवेदन बुझ्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले राजस्वका क्षेत्र बढाउने, नियमानुसार बाँडफाँड गर्ने र वित्तीय अनुशाशन कायम राख्ने काममा सजगता अपनाउन सरकारलाई निर्देशन दिने बताए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय विभाज्य कोषबाट संघ, प्रदेश र स्थानीय तहमा हुने राजस्व बाँडफाँड, वित्तीय समानीकरण अनुदान, प्रदेशले स्थानीय तहमा हस्तान्तरण गर्ने अनुदान, ससर्त अनुदान, आन्तरिक ऋण, प्रदेश विभाज्य कोषबाट स्थानीय तहमा जाने सवारी साधन कर, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी लगायतका बारेमा छुट्टाछुट्टै अध्ययन गरेको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend