• Saturday 25th July 2026

राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० ः नाम महिलाको खटनपटन पुरुषको

राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० ः नाम महिलाको खटनपटन पुरुषको

अधिकांश वक्तादेखि अध्यक्ष पुरुष ,आसनग्रहणमा अपमान गरेपछि महिला सांसदद्धारा कार्यक्रम बहिष्कार


  • लुम्बिनी रिभ्यू

शुक्रबारदेखि रुपन्देहीको भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० सुरु भएको छ । महिलाको लगानी घरघरमा लगानी भन्ने नारासहित सुरु भएको सम्म्मेलन उद्घाटनदेखि नै खल्लो र नमिल्दो भएको छ । महिला उद्यमी सम्मेलनको उद्घाटन सत्रमा आसनग्रणदेखि भाषण गर्ने पुरुष थिए । अध्यक्षता पुरुषको थियो । प्रमुख अतिथि भनेर प्रचार गरिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आएनन् । कार्यक्रममा अतिथि बनाएर बोलाएका प्रदेश सभा सदस्यहरुबारे त आयोजकले बेवास्था नै गरेका छन् ।

यही कारण राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० को उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशका महिला सांसदहरुले बहिस्कार गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको उद्घाटन कार्यक्रममा आफूहरुको मर्यादाक्रम मिचेको भन्दै कार्यक्रम बहिस्कार गरेर हिंडेको बताएका छन् ।

महिला उद्यमीहरुको कार्यक्रममा महिला सांसदहरुको पद तथा गरिमालाई नै अनादर र अपमान भएपछि आफूहरुले कार्यक्रम बहिस्कार गरेर हिंडेको प्रदेश सांसद भगवती अधिकारी घिमिरेले बताइन्  । उनले भनिन् ‘आसनग्रहण गराउँदा हामीहरुमाथि निकै अन्याय भयो, सरकारी मर्यादाक्रम अनुसार हामी १५ औं स्थानमा रहेका बेला एउटा व्यवसायिक सस्ंथाको अध्यक्ष भन्दा पछाडि आसनग्रहण गराएपछि कार्यक्रम बहिस्कार गरेर हिंडेका हौं ।’

घिमिरेसहित सांसदहरु जानकी न्यौपाने, हेमा बेल्बासे के.सी., शान्ति लोध र मीना श्रेष्ठले कार्यक्रम बहिस्कार गरेर हिडेका हुन् । उनीहरुले महिलाहरुका लागि आयोजना गरिएको कार्यक्रममा महिलाहरुलाई नै अपमान गरेपछि दुई दिनका लागि भनेर पुगेको कार्यक्रमबाट बाहिरिएको बताएका छन् । सांसदहरुले आफूहरुमाथि अपमान भएको भन्दै कार्यक्रममा अध्यक्ष र गृहमन्त्रीलाई जानकारी गराएर कार्यक्रम हलबाट बाहिरिएको बताएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने भनिएको कार्यक्रममा मौसम खराबीका कारण मुख्यमन्त्री चौधरी आउन ढिला भएपछि कार्यक्रमको उद्घाटन सत्र अगाडि बढाइएको थियो ।

कार्यक्रममा आयोजकले प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई विशिष्ट अतिथि नबनाई अतिथि मात्र बनाएको भन्दै सांसदहरुले रोष प्रकट गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्यमा सम्मलेन आयोजना गरिएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend