• Saturday 25th July 2026

बुटवलको औद्योगिक व्यापार मेलामा २५ करोडको आर्थिक कारोबार

बुटवलको औद्योगिक व्यापार मेलामा २५ करोडको आर्थिक कारोबार


  • लुम्बिनी रिभ्यू

बुटवल, २५ करोड रुपैंया बराबरको आर्थिक कारोबार गर्दै बुटवलमा संचालन भएको औद्योगिक व्यापार मेला सकिएको छ ।
लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित बुटवल उद्योग वाणिज्य संघले बुटवल मण्डपमा १६ दिनसम्म अर्थात् पुस ३ गतेदेखि १८ गतेसम्म व्यापार मेला संचालन गरेको थियो । मेलाको झण्डै ५ लाख दर्शकले अवलोकन गरेको स.घका अध्यक्ष हरि अर्यालले बताउनुभयो । मेलामा औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यवसायिकरणका ५ सय २६ स्टल सहभागी थिए ।

जीतगढी किल्लाको आकृतिमा निर्माण गरिएको स्टेज, स्टलको आकर्षक लेआउट र बालउद्यान निकै आकर्षक थिए । मेलाको समापन कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणले मुलुकको विकासको लागि औद्योगिक विकास र पलायन भईरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले युवा जनशक्तिको पलायनसंगै सीप र दक्षता पनि पलायन भईरहेको बताउँदै युवा जनशक्तिलाई रोक्न सकिएन भने देश पछाडि पर्ने टिप्पणी गर्नुभयो ।

ला अवधिमा छुट्टाछुट्टै शिर्षकमा दुईवटा गोष्ठि तथा सेमिनार गरिएको थियो । जीतगढी किल्लाको आकृतिमा निर्माण गरिएको स्टेज, स्टलको आकर्षक लेआउट र बालउद्यानमा राखिएको फिस टनेल मेलाका आकर्षकको रुपमा रहेका थिए । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भएका थिए । मेलामा विविध सांस्कृतिक कार्यक्रम सहित लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, व्यटि फियर, टिकटक लगायतका प्रतियोगिता गरिएको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी दिनुभयो ।

मेलामा उत्कृष्ट स्टललाई नगद पुरस्कार सहित सम्मान
मेलामा उत्कृष्ट स्टललाई सम्मान सहित नगद पुरस्कार गरिएको छ । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा गठन गरिएको मुल्यांकन समितिले गरेको मुल्यांकनका आधारमा उनीहरुलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।
मेलामा सहभागि स्टलमध्येबाट नेपाल सेरामिक इण्डष्ट्रिज प्रालि. प्रथम भएको छ । त्यस्तैगरी कोशेली मुर्तिकला उद्योग द्वितीय, कानुङ बचत तथा ऋण सहकारी संस्था तृतीय र दुर्गा नर्सरी एण्ड कृषि फर्म सान्त्वना भएका छन् । उनीहरुलाई क्रमश ः २१ हजार १, १५ हजार १, १० हजार १ र ५ हजार १ रुपैंया नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
त्यसैगरी प्रविधि तर्फ सुर्यछाप ढाका कपडा उद्योग, कृषि तर्फ जैविक कफि तथा मसला प्रशोधन उद्योग अर्घाखाँची र हस्तकला तर्फ नेपाल क्राफ्ट उद्योग प्रथम भएका छन् । उनीहरुलाई संघका अध्यक्ष हरिप्रसाद अर्याल तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतले सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको हो । उनीहरुलाई जनही २१ हजार १ रुपैंया नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको मेला कार्यसम्पादन समितिका सदस्य सचिव मुक्तप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
त्यसैगरी मेला समापन कार्यक्रममा मेलाका प्रायोजक, सहयोगीहरुलाई पनि सम्मान गरिएको छ भने मेलामा सहभागी स्टलहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रदर्शक पुस्तिका विमोचन
मेलाको समापनमा संघले औद्योगिक व्यापार मेला बुटवल २०८१ को अवसरमा प्रकाशन गरेको मेला प्रदर्शक पुस्तिका विमोचन गरिएको छ । उक्त पुस्तिकाको कार्यक्रमका प्रमुख अतिथी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विमोचन गर्नुभएको हो । संघले २०४१ सादेखि गरेका प्रदर्शनी तथा मेलाको बारेमा संक्षिप्त जानकारी सहित औद्योगिक व्यापार मेला २०८१ मा सहभागि स्टलको तथ्यांक समेटेर उक्त पुस्तिका प्रकाशन गरिएको हो । 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend