• Saturday 25th July 2026

उजाड डण्डा नदी किनारमा हरियाली पार्क

उजाड डण्डा नदी किनारमा हरियाली पार्क

सिद्धार्थनगर नगरपालिकाले डण्डा नदीको संरक्षण र प्रवद्धन गरी पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना


  • लुम्बिनी रिभ्यू

अमृता अनमोल
बुटवल , केही अघिसम्म रुपन्देहीको डण्डा नदी किनार उजाड थियो । कटान र नदीजन्य पदार्थको दोहनले ठूला ठूला खाल्डा थिए । तर, अहिले त्यस्तो छैन । नदी उकास क्षेत्रमा रहेका खाडललाई पुरेर सुन्दर पर्यटकीय पार्क बनाउन लागिएको छ ।

सिद्धार्थनगर नगरपालिकाले डण्डा नदीको संरक्षण र प्रवद्धन गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न  चार वर्ष अघि योजना अघि सारेको थियो । यसबाट नगरमा पर्यटकीय गतिविधि बढ्ने र आन्तरिक आम्दानी वद्धि हुने अपेक्षा छ ।
सिद्धार्थनगर नगरपालिका ३ मा रहेको यो क्षेत्र अब छिट्टै सुन्दर र आकर्षक पार्कमा परिणत हुने नगर उपप्रमुख उमा अधिकारीले जानकारी दिइन्। निर्माण सम्पन्न भएपछि यो भैरहवाकै पहिलो र आकर्षक पार्क हुने उनले बताइन् ।

पार्क अहिले हरियाली बनेको छ । वनभोजका लागि पाँच वटा सेड बनाइएको छ । यसमा २ वटा सेड सहरी विकासले बनाएको हो भने बाँकी नगरपालिकाले लगानी गरेको हो । पार्कमा हरिण, गैँडा, चिम्पाञ्जी, याक, चिप्लेटी, गार्डेन, मर्निङवाक क्षेत्र, ट्वाइलेट–बाथरुम, सेल्फीजोन बनाइसकिएको छ । हरियालीले पार्कलाई थप सुन्दर बनाएको छ ।भैरहवामा सार्वजनिक जमिन नहुँदा सार्वजनीक मनोरञ्जनस्थलको अभाव छ । नगरपालिकाले डण्डा नदीको छेउमा रहेको खाल्डोलाई पुरेर पार्क बनाइरहेको छ । अब नगरवासीलाई वनभोज जाँदा वा मनोरञ्जन गर्न पनि पनि टाढा जानु नपर्ने उहाँको भनाइ छ । करिब पाँच करोड रुपियाँको लागतमा नगरपालिकाले यो दरखसवा पार्क बनाइरहेको हो । जसमा विभिन्न चरणमा गरेर फरक–फरक पाँच जना ठेकेदारले निर्माण कार्य गरेका छन् ।

अघिल्लो पटकका जनप्रतिनिधिले करिब ५ वर्षअघि पार्क निर्माण सुरु गर्दा डण्डा छेउमा गहिरो खाडल थियो । यस्तो खाडलमा पनि पार्क बन्छ र भनेर धेरै आलोचना गरेका थिए, । अहिले सुन्दर पार्क तयार हुँदैछ भने पार्कको पूर्वपट्टिको संरचना तयार भइसकेको छ । उत्तरपट्टी केही निर्माणको कार्य जारी रहेको सुचना अधिकारी देवप्रसाद ज्ञवालीले बताए ।

नगर क्षेत्रभित्र पर्ने डण्डा खोलाको १५ किलोमिटर क्षेत्रलाई ५,५ किलोमिटरमा गरी तीन भागमा विभाजन गरेर बहुउद्देश्यीय अवधारणा अघि सारिएको छ । जसअन्तर्गत वडा नम्बर ९ र १२ मा पर्ने ५ किलोटिरलाई कृषियोग्य भूमि, ३ र १३ पर्ने ५ किलोमिटरलाई रिक्रियसन सेन्टर तथा वडा नम्बर १ र २ एवं ३ को केही भूभागमा पर्ने ५ किलोमिटर क्षेत्रलाई समेटेर शैक्षिक तथा अनुसन्धान क्षेत्रका रुपमा विकास गर्ने अवधारणा बनाइएको छ ।तत्कालका लागि भने भैरहवा–परासी सडक खण्डअन्तर्गत शान्तिनगरको डण्डा पुलदेखि भैरहवा–बेलहिया खण्डअन्तर्गत वडानम्बर तीन र एक जोड्ने सशस्त्र प्रहरी बल बीओपी डण्डा अगाडि० पुलसम्म्को ५ किलोमिटर क्षेत्रलाई विकास गर्ने गरी अवधारणा अघि सारिएको हो । यो ५ किलोमिटर क्षेत्रलाई पनि तीन भागमा विभाजन गरी विकास गरिनेछ । जसअनुसार उत्तर–दक्षिणको भागलाई सक्रिय क्षेत्र र बीचको भागलाई शान्ति क्षेत्रका रुपमा विकास गरिने नगर उपप्रमुख उमा अधिकारीले बताइन् ।
‘हामीले सिद्धार्थनगरलाई साँच्चिकै पर्यटकीय हवका रुपमा विकास गर्न अवधारणा ल्याएका हौं’, नगर उपप्रमुख अधिकारीले भनिन् ‘योजना सफल भएपछि यसले नगरको मात्रै होइन, जिल्ला र प्रदेश पाँचकै समृद्धिका लागि टेवा पुग्छ ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend