बुटवल — राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्राविधिक शिक्षा तथा तालिम परिषद्को पुनः संरचनाको माग गर्दै चिकित्सा शिक्षा व्यवसायी आन्दोलित भएका छन् ।

ऐनका कारण नेपालमा चिकित्सा शिक्षा पढाउने २ सय २८ शिक्षण संस्था बन्द हुने र करोडौं रकम विदेशिने अवस्था आएको भन्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समिति लुम्बिनी प्रदेश आन्दोलित भएको हो ।
यसैगरी नर्सिङ लगायतका पारामेडिकल विषयहरु चिकित्सा शिक्षाबाट अलग गरिनु पर्ने, खुला बजार अर्थनीतिअनुसार मूल्य निर्धारणको व्यवस्था, हरेक तहका लागि अस्पताल चाहिने कार्यविधि खारेज तथा विश्वविद्यालय प्रतिष्ठानहरु, विषयगत काउन्सिलहरु र सीटीईभीटीलाई स्वायत्त बनाउनु पर्ने मागसमेत अगाडि सारेको छ ।
समिति संयोजक प्रकाश रानाका अनुसार सीटीइभीटी अन्तर्गतका प्रि-डिप्लोमा तहका स्वास्थ्य विषयका १ सय ३७ र स्टाफ नर्स ७३ वटा बन्द भएका छन् । यस्तै विश्वविद्यालय अन्तर्गतका स्नातक तहका बीएन १० र बीएस्सी नर्सिङ ८ वटा शिक्षण संस्था बन्द भएका छन् ।
नेपाल चिकित्सा संघका पूर्वअध्यक्ष मुक्ति श्रेष्ठले ऐनका कारण नेपाल मेडिकलसम्बन्धी अध्यापन गराउने शैक्षिक संस्थाहरु बन्दै हुँदै जाँदा जनशक्ति उत्पादन रोकिएर अभाव सिर्जना हुँदै गएको बताए । गलत शिक्षा ऐनका कारण चिकित्सा शिक्षा धरापमा परेको उनको भनाइ छ ।

लुम्बिनी रिभ्यू