शुक्रबारदेखि रुपन्देहीको भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० सुरु भएको छ । महिलाको लगानी घरघरमा लगानी भन्ने नारासहित सुरु भएको सम्म्मेलन उद्घाटनदेखि नै खल्लो र नमिल्दो भएको छ । महिला उद्यमी सम्मेलनको उद्घाटन सत्रमा आसनग्रणदेखि भाषण गर्ने पुरुष थिए । अध्यक्षता पुरुषको थियो । प्रमुख अतिथि भनेर प्रचार गरिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आएनन् । कार्यक्रममा अतिथि बनाएर बोलाएका प्रदेश सभा सदस्यहरुबारे त आयोजकले बेवास्था नै गरेका छन् ।
यही कारण राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८० को उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेशका महिला सांसदहरुले बहिस्कार गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको उद्घाटन कार्यक्रममा आफूहरुको मर्यादाक्रम मिचेको भन्दै कार्यक्रम बहिस्कार गरेर हिंडेको बताएका छन् ।
घिमिरेसहित सांसदहरु जानकी न्यौपाने, हेमा बेल्बासे के.सी., शान्ति लोध र मीना श्रेष्ठले कार्यक्रम बहिस्कार गरेर हिडेका हुन् । उनीहरुले महिलाहरुका लागि आयोजना गरिएको कार्यक्रममा महिलाहरुलाई नै अपमान गरेपछि दुई दिनका लागि भनेर पुगेको कार्यक्रमबाट बाहिरिएको बताएका छन् । सांसदहरुले आफूहरुमाथि अपमान भएको भन्दै कार्यक्रममा अध्यक्ष र गृहमन्त्रीलाई जानकारी गराएर कार्यक्रम हलबाट बाहिरिएको बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने भनिएको कार्यक्रममा मौसम खराबीका कारण मुख्यमन्त्री चौधरी आउन ढिला भएपछि कार्यक्रमको उद्घाटन सत्र अगाडि बढाइएको थियो ।
कार्यक्रममा आयोजकले प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई विशिष्ट अतिथि नबनाई अतिथि मात्र बनाएको भन्दै सांसदहरुले रोष प्रकट गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्यमा सम्मलेन आयोजना गरिएको हो ।

लुम्बिनी रिभ्यू